काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । साथै, कारबाही गर्न रौतहट प्रहरीलाई पत्र पठाएको छ ।
रौतहट क्षेत्र नम्बर १ मा दुई दिनअघि विवादित अभिव्यक्ति दिएर विवादमा तानिएका नेपालमाथि निर्वाचन आयोगले एकसाथ दुई कारबाही अघि बढाएको हो। आयोगले बिहीबार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ । त्यस्तै, २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ।
नेता नेपालले रौतहटमा चुनाव प्रचारका क्रममा आश्वासन बाँड्दै ‘बिना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ’ भनेको भिडिओ भाइरल भइरहेको छ । उक्त अभिव्यक्तिका कारण आलोचनाको केन्द्र बनेका नेपालले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।’