हेटौँडा । प्रदेश नं–३ को राजधानी मंगलबार टुंगो लाग्ने भएको छ । प्रदेशसभामा सोमबार नामबारे प्रस्ताव पेश हुने र मंगलबार मतदान गरी टुंग्याउने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा यही पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने जानकारी दिए । प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन् ।
राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए । निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए ।
पुस १३ गते आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौँडा र बागमती नाम राख्ने निर्णय गर्दै नेकपाको प्रदेश कमिटिलाई सोहिअनुसार गर्न निर्देशन दिएको थियो । प्रदेश सभामा नेकपाको दुई तिहाई बहुमत छ ।
तर, पार्टी सचिवालयले दिएको निर्देशन अवज्ञा गर्ने कतिपय सांसदहरुले चेतावनी दिएका थिए । तर, नेकपाका शीर्ष नेताहरुले त्यो निर्देशनबाट दायाँबायाँ नभई सोहिअनुसार प्रदेश सभाबाट निर्णय पारित गराउन पुनः आदेश दिएका छन् ।
प्रदेशको नाम र राजधानी राख्ने अधिकार प्रदेश सभा र त्यहाँका सांसदको संवैधानिक अधिकार भएको भन्दै कतिपय सांसदहरुले त्यसको अवज्ञा समेत गर्ने जनाऊ दिएपछि केही दिन अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलले पार्टीको प्रदेशका नेताहरुलाई बोलाएर सो आदेश दिएका हुन् ।
यसअघि सचिवालयले भनेअनुसार प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय प्रदेश सभाबाट पारित गराउन निर्देशन दिएका हुन् ।

