खलङ्गा । प्युठानमा २०७९ असोज २१ गते शुक्रबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज (शनिबार) निकालिएको छ तर तीन जना अझै बेपत्ता छन् ।
प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहुमगरको घर पहिरोमा पुरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहुमगरको शव पहिरोबाट निकालिएको हो । प्रहरीले स्थानीयको सहयोगमा शव निकाल्ने काम गरेको हो ।
पहिरोमा परी ६० वर्षीय बमबहादुर राहुमगर, चार वर्षीय सुसान्त राहुमगर र ६० वर्षीय हिराबहादुर थापामगर अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापामगरले जानकारी दिनुभयो । (रासस)