काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा गत रातिदेखि नै वर्षा भइरहेको छ । त्यस्तै, देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ ।
वर्षाका कारण आज २०७९ असोज १९ गते बुधबारको बडादसैँका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज बुधबार दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ ।
आज प्रदेश नं १, मधेस प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने छ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ ।
‘उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३÷४ बजेतिर पानी रोकिन्छ’ उहाँले कुरा गर्दै भन्नुभयो– ‘सिमसिम पानी परिरहन्छ तर ठुलो वर्षा हुँदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।’
उहाँले यो प्रक्रिया अझै दुई तीन दिन रहने जानकारी दिँदै भन्नुुभयो– “पश्चिम र सुुदूर पश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ । यो प्रक्रिया अझै दुई तीन दिनसम्म रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुनेसमेत सम्भावना छ ।’
उहाँका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्ने छ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ । (रासस)