काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ । राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्रको जाहेरीमा सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
कपिलवस्तु जिल्ला अदालतले सांसद शाह बिरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।
मिश्रले आफूमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा बिहीबार जाहेरी दिएका थिए । सांसद शाहले यही पुस ५ गते आफ्नै घरमा बोलाई कोठाभित्र थुनेर नसालु पदार्थ सुँधाएर कुटपिट गरेको राप्रपा नेता मिश्रको आरोप छ ।
मिश्रले शाहले आफ्नो मुखभित्र बन्दुक राखेर ज्यानमार्ने घम्की दिएको र सो क्रममा आफ्नो दाँत समेत हल्लिएको र मुखमा चोट लागेको उजुरीमा उल्लेख गरेका छन् । नेता मिश्रले स्थानीय तहको निर्वाचनलाई लिएर आफूमाथि आक्रमण भएको समेत बताए ।
संसदलाई पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी गराउनु पर्ने कानुनी प्रावधान छ । सांसद शाह व्यक्तिगत कामले हाल भारतको लखनउमा छन् ।