भीमदत्त पन्तनगर । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन प्रत्येक वर्ष अक्टोबर ४ का दिन विश्व पशुदिवस मनाइँदै गर्दा नेपालमा भने पशु संरक्षणमा चुनौती देखा परेको छ ।
यस वर्ष बडादसैँ परेकाले ठुलो परिमाणमा मासुको आवश्यकता पूर्तिमाझ पशु संरक्षणमा चुनौती देखा परेको हो ।
नेपालमा विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रूपमा पुज्ने प्रचलन छ । तिहारमा विशेष गरी पशुको महत्त्व बढी व्यक्त गरिन्छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दु धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पुण्य दिने दानसँग तुलना गरिन्छ तर पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन ।
राष्ट्रिय जनावरको रूपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दुध दिने बेलासम्म पाल्ने र दुध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मीहरू बताउँछन् ।
पाँच वर्षदेखि छाडा पशुका उपचारमा खटिएका कञ्चनपुरका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरूले पछिल्लो समय पशुप्रति मानव क्रुर हुन थालेको बताउनुभयो ।
‘दुध दिने बेलासम्म गाई बाध्ने र दुध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ’ उहाँले भन्नुभयो– ‘गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो र यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।’ उहाँले आफू पाँच वर्षदेखि निरन्तर छाडा पशुको संरक्षण, घाइतेको उपचारमा खटिएको बताउनुभयो ।
‘पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेका छैन’ उहाँले भन्नुभयो– ‘यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन् । त्यहाँ राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।’ उहाँले पशु संरक्षणका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी छाडा पशुको स्वाहारमा खटिएका यहाँमा स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानवीय व्यवहार नभएको बताउनुभयो । ‘मानिस स्वार्थी भए दुध दिए मात्रै पाल्ने नभए सडकमा छोड्ने जुन प्रवृत्ति छ, यसले ठुलो समस्या सिर्जना गरेको छ’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रति समेत मानवीय व्यवहार भएको छैन ।’ उहाँले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनुभयो ।
बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले छाडा पशु संरक्षणका लागि यहाँका दुई नगरपालिकाले संयुक्त प्रयास गरिरहेको जानकारी दिनुभयो । बेदकोट र भीमदत्त नगरपालिकाले संयुक्त कार्यदल बनाएर छाडा पशु संरक्षणका लागि काम गरिरहेको उहाँले बताउनुभयो ।
‘दुवै पालिकाको संयुक्त कार्यदल गठन गरेर काम भइरहेको छ’ उहाँले भन्नुभयो– ‘बेदकोट–४ मा १२ बिगाह जमिन भाडामा लिएर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।’
सडकमा पशुलाई छाडा छोड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरूपसमेत हुने गरेको छ । जनावरको संरक्षणका लागि सबै पक्षले सचेत भए मात्रै पशु संरक्षण गर्न सकिने उहाँले बताउनुभयो ।
पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्र्बन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको योगदान महत्त्वपूर्ण मानिन्छ । पूर्वी सभ्यतामा जनावरलाई अझ विशेष महत्त्व दिएको पाइन्छ । (रासस)