काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–७ मा कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । धुलाचोरबाट कोल्टी जाँदै गरेको से१ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो। जिप नदीमा डुबेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बाजुरा जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय गाडी चालक तथा साहु रमेश शाही, बाजुराकै हिमाली गाउँपालिका–६ धुलाचौरका ३५÷३६ को पवन भण्डारी, कैलालीको मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेशकुमार घर्तीमगर रमुगुको मुगुकर्मारोग गाउँपालिका– ८ का ३९ वर्षीय पेमा लामा रहेका छन् ।
घटनामा बाजुरा स्वार्माकार्तिक गाउँपालिका–४ वाई का १२÷१३ वर्षकी सुसीला बिक वेपत्ता छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते चार मध्ये एकको अवस्था गम्भीर छ । घाइते भएका मुगुको मुगुकर्मारोग गाउँपालिका– ८ का २० वर्षीय गोम्चे लामा, सोही स्थानका टोर्चे लामा, बाजुरा बुढीनन्दा गाउँपालिका–६ की २२ वर्षीया सरु बिक उनकी छोरी २ वर्षीया बालिकालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर ल्याइएको छ । बालिकाकी आमा सरु बिकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

