काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनले १६ डिसेम्बर २०१९ मा पठाएको मूल्य अनुरुप निगमले १ जनवरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य समायोजन गरेको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत छ।
समायोजन पश्चात् पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु। १११ प्रति लिटर, पोखरा, दाङ्गमा रु ११०.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु १०९.५० प्रति लिटर कायम गरिएको छ।
यस्तै, भने डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु १०० प्रति लिटर, पोखरा, दाङ्गमा रु ९९.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु। ९८.५० प्रति लिटर कायम गरिएको छ ।
मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु। १८.६७ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु। १८.२७ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।
