काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलात्कार आरोपमा १७ वर्षीया एक किशोरीले प्रहरीमा उजुरी दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
सन्दीपलाई बिहीबार नै नेपाल क्रिकेट संघ (क्यान)ले टिमबाट निलम्बन गरेको छ । क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
यसअघि क्यानले नै तत्काल सन्दीप लामिछानेमाथि कुनै छानविन नगर्ने र निलम्बनको निर्णय पनि तत्काल आवश्यक नरहेको प्रतिक्रिया दिँदै आएको थियो । सन्दीपले कानुनी सहयोगका लागि समेत क्यानसँग आग्रह गरेका थिए ।
तर, अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै क्यानले तत्काल निलम्बनको निर्णय लिएको हो ।
हाल सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । अब प्रहरीले उनलाई जुनसुकै बेला पक्राउ गर्न सक्नेछ ।