वासु पोखरेल
यही भाद्र ११ गते “हाँक” साप्ताहिक परिवारको तर्फबाट सहिद शोभाकर धनन्जय (सरोज शर्मा) लाई दिइएको श्रद्धाञ्जलीको प्रेसनोट उक्त साप्ताहिकको वेबसाइटमा ढिलो गरी पढ्ने अवसर मिल्यो । प्रेसनोटमा “हाँक” पत्रिकाबारे कतिपय भ्रमपूर्ण र झुटा कुरा लेखिएकाले पाटकको स्पष्टताका लागि यो टिप्पणी गर्न चाहान्छौँ ।
उक्त प्रेसनोटमा लेखिएको छ– “२०७६ भदौ ११ गते मसालभित्रको दक्षिणपन्थी हेडक्वाटरद्वारा सहिद शोभाखर धनन्जय (सरोज शर्मा) ले सुरु गर्नुभएको जनपक्षीय पत्रिका हाँक साप्ताहिकको हत्या गरेको दिन । सहिद सरोज शर्माले सहादत प्राप्त गरेकै उक्त दिन पारेर मसालको मोहनविक्रम समूहले हाँक साप्ताहिक सदा सदाका लागि बन्द गर्ने घोषणा गरेको थियो तर मसालभित्रकै क्रान्तिकारी विचारका पक्षधर नेता–कार्यकर्ताको साथ–सहयोगमा सहिद शोभाखर धनन्जयको नासोको रूपमा रहेको हाँक साप्ताहिकलाई निरन्तरता दिइयो ।”
तर “हाँक” साप्ताहिकबारे साँचो कुरा के हो भने २०४३ साल भाद्र महिनामा हाँक साप्ताहिकका संस्थापक तथा प्रधान सम्पादक शोभाखर धनन्जय (सरोज शर्मा) को दिल्लीमा हत्या गरिएको थियो । उहाँको मृत्युपछि शोभाखर धनन्जयको परिवारले उक्त पत्रिकालाई उहाँको नासोको रूपमा पार्टीलाई सुम्पेको थियो । त्यतिबेलाको निरङ्कुश पञ्चायती व्यवस्था र पार्टीमाथिको प्रतिबन्धका कारण पार्टीकै नाममा पत्रिका सञ्चालन गर्नु सम्भव थिएन । त्यस्तो अवस्थामा पार्टीले त्यतिबेलाको पार्टीको नेता गोविन्दसिंह थापाको नाममा दर्ता गरेर उक्त पत्रिका चलाउने निर्णय गर्यो तर पछि पार्टीले व्यक्तिको नाममा रहेको पार्टीको सम्पत्ति “हाँक” पत्रिकालाई व्यक्तिको नाममा राखिरहनुभन्दा प्रालिका नाममा सञ्चालन गर्ने निर्णय गरेपछि गोविन्दसिंह थापाले उक्त पत्रिकालाई प्रालि अर्थात् पार्टीलाई हस्तान्तरण गर्न अस्वीकार गर्नुभयो र सहिद शोभाखर धनन्जयको परिवारले उहाँको नासोको रूपमा पार्टीलाई सुम्पेको पार्टीको सम्पत्ति हाँकलाई आफ्नो निजी सम्पत्ति बनाउनुभयो । यसरी बाध्य भएर पार्टीले “हाँक” साप्ताहिकको ठाउँमा अर्काे पत्रिका निकाल्ने निर्णय गर्न बाध्य भयो ।
यस्तो यथार्थ कुरालाई तोडमोड गरेर पार्टीबाट बाहिरिएका केही फुटपरस्त र अराजकतावादीहरूले “हाँक” पत्रिकालाई दुरूपयोग गरेर नेकपा (मसाल) का विरुद्ध विषवमन गरिरहेका छन् । यसरी कानुनको त्यान्द्रो समातेर पार्टी र स्वयम् सहिद शोभाखर धनन्जयको आस्थामाथि प्रहार गर्ने कुराकति घृणित र अनैतिक छ ? प्रष्ट हुन्छ ।
उक्त प्रेसनोटमा लेखिएको छ– “उहाँको विचारको हत्या गर्न पत्रिका बन्द भएको घोषणा गर्ने दक्षिणपन्थीहरूका विरुद्धमा हाँकको सम्झौताहीन सङ्घर्ष जारी रहने छ ।”
कुरा स्पष्ट छ, नेकपा (मसाल) लाई “दक्षिणपन्थीको आरोप लगाउने कथित क्रान्तिकारीको निर्माणको जग नै पार्टीको सामूहिक सम्पत्तिलाई हडपेर निजी बनाउने कार्यबाट सुरु हुन्छ, त्यो समूह कति क्रान्तिकारी होला ? र उक्त समूहले सहिद शोभाखर धनन्जयको विचारको कति प्रतिनिधित्व गर्ला ? यसरी सहिदको सम्मान होला ? यसको विश्लेषण गर्ने जिम्मा पाठकलाई नै दिन चाहान्छौँ ।

