काठमाडौं । फ्रान्सेली सांसदको एक टोली नेपाल भ्रमणमा आएको छ । फ्रान्सेली सिनेट अन्तरगत नेपाल-फ्रान्स अन्र्तसंसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमोन नेतृत्वको टोली नेपाल भ्रमणमा आएको हो ।
फ्रान्सेली संसदीय टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ । भेटवार्तामा विकास सहकार्य, ब्यापार तथा लगानी, जलवायु परिवर्तन र सांसदबीचका भ्रमण आदान प्रदानको महत्व लगायत बिषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री खड्काले कोरोना महामारीका बखत फ्रान्सले दिएको सहयोगका लागि धन्यवाद दिनुभयो ।
यहाँ रहँदा टोलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ । दूतावासका अनुसार फ्रान्सेली टोलीले भोली मंलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्नेछ । नेपाल-फ्रान्स सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले फ्रान्सेली टोली आएको दूतावासले जनाएको छ ।
नेपाल-फ्रान्स अन्र्तसंसदीय मैत्री समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निमन्त्रणामा फ्रान्सेली सांसद टोली नेपाल आएको हो । एकिकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसँग टोलीले भिन्दै भेट्ने कार्यक्रम छ। निजी क्षेत्रका प्रतिनिधी र जलवायु परिवतन मामिलाका जानकारसंग पनि फ्रान्सेली सांसदले अन्र्तक्रिया गर्नेछन् ।