दमौली । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ ।
यस क्रममा जिल्ला खेलकुद विकास समिति तनहुँले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ।
यस सन्दर्भमा खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।
‘खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन’ उहाँले भन्नुभयो– ‘जसोतसो व्यवस्थापन गरेर खेल सञ्चालन गरी खेलाडी छनोट गरेका छौँ ।’
नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि टेबल टेनिस घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा रहेको कोर्टमा खेलाइएको छ । भलिबल खुलाचौरस्थित खेलमैदानमा खेलाइएको छ । कराँते निर्माणाधीन कभर्डहलमा खेलाइएको छ । बास्केटबल व्यास नगरपालिका–१ स्थित निर्मल माविमा रहेको कोर्टमा खेलाइएको छ । बास्केटबल कोर्ट भने राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा निर्माण गरिएको छ । यहाँ मापदण्डानुसारका दुई बास्केटबल कोर्ट निर्माण गरिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदका लागि तनहुँमा खेल खेलाउँछौँ भन्दा पूर्वाधार अभावले नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
‘तनहुँमा पनि खेल खेलाउने इच्छा हो तर पूर्वाधार नै छैन’ अध्यक्ष पाण्डेले भन्नुभयो– ‘मापदण्डानुसारको कोर्ट भएकाले बास्केटबल खेल खेलाउन सकिन्छ ।’
तनहुँमा महिला बास्केटबल खेलाउने तयारी छ । महिला बास्केटबलका लागि खेलाडी र अफिसियलसहित तीन सय जना दमौली आउने छन् ।
‘होटलको अभावका कारण महिला बास्केटबलका लागि मात्रै व्यवस्थापन गर्न सकिने भइयो’ उहाँले भन्नुभयो ।
खेल सञ्चालनका लागि खेलकुदका सामग्री पनि अभाव रहेको कराँते महासङ्घ तनहुँका अध्यक्ष मनिराज थापामगरले बताउनुभयो । कराँतेका लागि खेलाडी छनोट गर्न जिल्लामा म्याट नरहेकाले लमजुङबाट मगाइएको उहाँले बताउनुभयो ।
बजेट अभावका कारण खेलकुद विकास समितिलाई कार्यालय भाडा तिर्न पनि समस्या हुँदै आएको छ ।
‘पाँच/छ महिनाको भाडा रकम नभएर व्यक्तिगत रूपमा उठाएर तिर्नुपर्ने अवस्था पनि आयो’ पाण्डेले भन्नुभयो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुनु गौरवको कुरा भएको र तनहुँको दमौलीमा पनि खेल सञ्चालन गर्दा व्यास नगरपालिकाको तर्फबाट हुन सक्ने सहयोग गर्न आफूहरू तयार रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
‘नगरपालिकाका पनि सीमित स्रोत छन्, प्रतियोगिता सम्पन्न गराउनु सबैको दायित्व र कर्तव्य हो’ उहाँले भन्नुभयो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्रिकेट, ब्याडमिन्टन, बास्केटबल, उसु, बक्सिङ, फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, टेबल टेनिस, बुद्धिचाल, कराँते, आइटिएम तेक्वान्दो, फुल कन्ट्याक्ट कराँतेबाट प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरिएको छ ।
करिब चार दसकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । वि.सं. २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।
राष्ट्रिय खेलकुदमा दुई प्रदर्सनसहित ३८ खेल सञ्चालन हुने छन् । अधिकांश खेल पोखरामा र केही खेल पोखराबाहिर गर्ने तयारी छ । प्रदेशका ११ ओटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।
दुई सय २१ खेलाडी छनोट
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट दुई सय २१ खेलाडी छनोट भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट दुई सय २१ खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
फुटबलतर्फ १४ पुरुष र १४ महिना गरी २८, भलिबलतर्फ नौ पुरुष र नौ महिला गरी १८, क्रिकेटतर्फ १४, बास्केटबलतर्फ नौ, टेबल टेनिसतर्फ पाँच, ब्याडमिन्टनतर्फ सात पुरुष र पाँच महिला गरी १२, एथलेटिक्सतर्फ नौ पुरुष र नौ महिला गरी १८, बुद्धिचालतर्फ तीन, कराँतेतर्फ २९, कबड्डीतर्फ दस पुरुष र दस महिला गरी २०, आइटिएम तेक्वान्दोतर्फ १४ पुरुष र ११ महिला गरी २५, तेक्वान्दोतर्फ छ पुरुष र छ महिला गरी १२, फूल कन्ट्याक्ट कराँतेतर्फ सात पुरुष र पाँच महिला गरी १२, उसुतर्फ छ पुरुष र छ महिलागरी १२ र बक्सिङतफ चार खेलाडी छनोट भएको खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने छन् । (रासस)