काठमाडौं । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो खेलमा नेपाल घरेलु टोली केन्यासँग १८ रनले पराजित भएको छ ।
शुक्रबार सम्पन्न खेलमा नेपाल १८ रनले पराजित भएको हो । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा एक सय १४ रन मात्र बनाउन सक्यो ।
केन्याको यो जितसँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपालले पाँच विकेटको जित हात पारेको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रनको योगदान दिए । रोहित पौडेल र मोहम्मद आदिल आलमले समान २०र२० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ केन्याका इम्यानुएल बुन्दी, लुकास ओलुच र विराज पटेलले दुईरदुई विकेट लिए भने नेहम्याह ओधिएम्बा र युजिन ओचिङले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३२ रन बनायो ।
केन्याका लागि निहिमी अडिहिम्बोले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीनरतीन, करण केसीले दुई र पवन सरार्फले एक विकेट हात पारेका थिए ।
तेस्रो खेल आइतबार हुनेछ ।