पोखरा । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विशेष प्रशिक्षण सञ्चालन भएको छ।
खेलकुद परिषद् गण्डकीले पहिलो चरणमा १४ वटा खेलको विशेष प्रशिक्षण सहित खेलाडी छनोट सुरु गरेको हो । छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङजा र बागलुङमा हुनेछ ।
शुक्रबार देखि सुरु भएको २० दिनको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल छन् । विशेष प्रशिक्षणबाट आवश्यक खेलाडी छनोट गरिने परिषदले बताएको छ।
अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट हुनेछ ।
भदौ १५ गते देखि हुने अन्तिम छनोट खेलमा २२ खेलका ३ हजार बढी खेलाडी पोखरा आउने छन् । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुनेछ ।