काठमाडौँ । नेकपा (मसाल) ले अखिल नेपाल युवक संघ चितवनका जिल्ला सदस्य प्रजापति शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा मंगलबार जारी शोकवक्तव्यमा शर्मा पार्टीसदस्य भएको जानकारी दिँदै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
शर्माको निधनबाट कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको बताइएको उक्त शोकवक्तव्यमा अगाडि भनिएको छ :
‘चितवन जिल्ला भरतपुर महानगरपालिका–११ निवासी का. प्रजापति शर्मा (का. पृतम) को २०७९ साउन २९ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवार जनप्रति हामीले हार्दिक समवेदना प्रकट गर्दछौँ ।
उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले अखिल नेपाल युवक सङ्घलगायत विभिन्न जनवर्गीय सङ्गठन र मोर्चामा रहेर जिम्मेवारी बहन गर्नुभएको थियो । विभिन्न सामाजिक सङ्घसंस्थामा रहेर सामाजिक व्यक्तित्वसमेत निर्माण गर्नुभएका शर्मा हाम्रो पार्टीको मिलनसार, अनुशासित र जुझारु सदस्य हुनुहुन्थ्यो ।
उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’