खिमराज चालिसे, चंडिगढ ।
मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले पाल्पाका एक वर्षीय बालकलाई उपचारका लागि ३ लाख ८० हजार सहयोग गरेको छ ।
पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका– ८ घर भइ हाल भारत पंजाब राज्यको जालन्धरबस्ती बाबाखेल कच्चाकोटमा बस्ने लक्ष्मी सोमै र पदम बहादुर सोमैको छोरा राम खेल्दा खेल्दै लडेर गम्भीर घाइते भएका थिए ।
बालकको उपचारका लागि मूल प्रवाहले अर्थिक सहयोग हस्तान्तरण गरेको छ । घाइते बालकको उपचारको लागि मूल प्रवाहले नेरु ३ लाख ८० हजार रकम बालकका बुबा आमालाई मंगलबार सहयोग गरेको हो ।
गम्भीर घाइते भएका बालकलाई तत्काल अरमान हस्पिटलको न्युरो सर्जरी आइसीयूमा भर्ना गरिएको थियो । आर्थिक रुपमा विपन्न सोमै परिवारले बालकलाई बचाउन मूल प्रवाहसँग सहयोगको लागि अनुरोध गरेका थिए । आर्थिक संकलन गर्न सक्रिय रुपमा लागेका मूल प्रवाह जालन्धरको पहलमा विभिन्न सामाजिक व्यक्ति तथा संघसस्थाहरुले पनि सहयोग गरेका थिए।
मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालेले दिनुभएको जानकारी अनुसार बालकको उपचारको लागि नगद नेरु २ लाख २० हजार ४० र हस्पिटल प्रशासनसँग वार्ता गरी १ लाख ६० हजार नेरु बराबरको बिलमा छुट गराइ जम्मा ३ लाख ८० हजारको सहयोग गरेको हो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धरले आफूले सञ्चालन गरेको राम सोमै बचाउ अभियानमा विभिन्न सामाजिक व्यक्तित्व र संघसस्थाहरुबाट गरिएको उत्साह जनक सहयोगको लागि आभार सहित धन्यवाद ज्ञापन गरेको छ।