काठमाडौं । वरिष्ठ भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छिन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा नेपाल आउन लागेकी उनले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।
उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन् । असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ।
उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथि माथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसंगीतमा ठूलो योगदान दिएकी छन्।
यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजित मिजारलगायत कलाकार नेपाल आइसकेका छन्।