काठमाडौं । आगामी कात्तिक ५ देखि ७ गतेसम्म प्युठानमा ‘प्युठान साहित्य महोत्सव’ हुने भएको छ ।
साहित्य परिषद प्युठानको सोमबार काठमाडौंमा बसेको बैठकले महोत्सवलाई आकर्षक बनाउन विभिन्न निर्णय गरेको साहित्य परिषद् प्युठान काठमाडौँ सम्पर्क समितिका संयोजक समीर सिंहले जानकारी दिनुभएको छ ।
प्युठान जिल्लाको जीवन, संस्कृति, भाषा, कला, समाज तथा राजनीतिलाई साहित्यको माध्यमबाट उजागर गर्नको लागि सो महोत्सव आयोजना गरिएको हो ।
देशका विभिन्न ठाऊँहरुबाट साहित्यकार, कलाकार, बुद्धिजीवीहरुलाई समेत प्रतिनिधित्व गराइने सो महोत्सवको उद्घाटन कात्तिक ५ गते स्वर्गद्वारीमा स्थानीय झाँकी, कविता, गीत लगायतका साहित्यिक गतिविधिहरुका साथ हुनेछ । कात्तिक ६ गते बिहान ओखरकोट र साँझ खलङ्गामा सोही प्रकारका साहित्यिक कार्यक्रम हुनेछ भने कात्तिक ७ गते बाग्लुदामा देवकोटा जयन्ती लगायत विभिन्न गतिविधिहरु गरी महोत्सवलाई अझ आकर्षक बनाइनेछ । सो अवसरमा प्युठानका विभिन्न पर्यटकिय तथा सांस्कृतिक स्थानहरुको भ्रमणसमेत गरिनेछ ।
प्युठानमा हुने साहित्यिक महोत्सवको बृहत तयारीका लागि श्रावण २३ गते दिउँसो २ बजे विस्तृत बैठकको आयोजना गरिएको छ । बैठकमा मोहनविक्रम सिंह, मोहन वैद्य, बामदेव गौतम, लिलामणी पोखेल, मणी थापा, दूर्गा पौडेल, डा. गोविन्द पोख्नेल, डा. गोविन्द पौडेल, हरिहर शर्मा लगायत प्युठान जिल्लासँग सम्बन्धित विभिन्न बुद्धिजीवी, राजनैतिक व्यक्तित्व, साहित्यकारहरुको समेत उपस्थिति रहने सिंहले जानकारी दिनुभएको छ ।
