नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा सभा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समिति र ओखला नगर समितिको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको हो।
समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगरले सरकारले चालेको कदमले देश फिजीकरण हुँदै सिक्किमीकरण हुने खतरा भएको बताउनु भयो । उहाँले नागरिकता विधेयक खारेजीको आन्दोलनमा शरीक हुन सम्पूर्ण देशभक्त जनसमुदायलाई आह्वान गर्नुभएको थियो ।
नेता पुनले भन्नुभयो, ‘एमसीसी सम्झौता पारित गरेर नेपाललाई अमेरीकी क्याम्पमा लैजाने प्रयत्न गरियो । अहिले नागरिकता विधेयक पास गरेर नेपाललाई फिजी हुँदै सिक्कीम बनाउने षडयन्त्र गरिँदै छ’ पुनले अगाडि भन्नु भयो, ‘नागरिकता जस्तो कुरालाई अहिलेको सरकारले छलफल नगराई जबरजस्ती पास गर्नुले यो सरकारको राष्ट्रियताप्रतिको चरित्र स्पष्ट भएको छ । यदी सरकारको रबैया यस्तै रहे यो सरकारलाई पनि नेपाली जनताले सत्ताच्यूत गरिदिने छन् ।’
एकता समाजको विरासत र इतिहास आन्दोलनसँग जोडिएको पुनले बताउनुभयो ।
‘जतिजति बेला देशको जनतन्त्र तथा जनजिवीका र सार्वभौमिकता माथि हमला हुन्छ त्यसको विरुद्धमा एकता समाजले निरन्तर आवाज उठाउँदै आएको छ’ पुनले अगाडि भन्नुभयो, ‘एकता समाजको यहि विरासतलाई धुमिल पार्न कतिपय गिरगिट जस्ता रंग बदल्ने विरोधीहरु लागिपरेका छन् । उनीहरुको मुख्य उदेश्य संगठनको छविलाई धुमिल पार्नु नै हो ।’ जनतन्त्र तथा जनजिवीका र सार्वभौमिकता माथि हमलाको मौन दर्शक भएर हेर्न नसक्ने पुनको थप भनाई थियो ।
‘आन्दोलन अझै सशक्त पारेर लैजाने छौं’ उहाँले भन्नु्भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य शिव केसी, केन्द्रीय सल्लाहकार विन बहादुर केसी, तिलक पाण्डे, केन्द्रीय परिषद सदस्य मुक्ति भुसाल, पश्चिमोत्तर क्षेत्रीय समितिका पहलसिंह परियार, नगर समितिका सन्दीप भाट, लालीगुराँस युवा कलवका गणेश खड्का लगायतले वक्ताहरुले नागरिकता जस्तो सम्वेदनशील विषयमा सरकार गम्भिर बन्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम नई दिल्ली नगर समितिका उपाध्यक्ष तिलक पाण्डेको अध्यक्षता र नगर सचिव विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

