टेकराज भुसाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा वामपन्थी नेता सागर केसीलाई पत्नी शोक परेको छ। राजमो केन्द्रीय सदस्य केसीकी पत्नी तुलसादेवी खड्काको मुटु सम्बन्धि समस्याका कारण ६४ वर्षको उमेरमा सोमबार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
तुलसादेवीको शव काठमाडौंबाट उहाँको निवास अर्घाखाँची ल्याइएको छ । उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
कार्यकारी अध्यक्ष नेपालीले संक्षिप्त श्रद्धाञ्जली मन्तव्य राख्दै तुल्सादेवी खड्काको असामयिक निधनबाट संगठनलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले संगठनमा देखाएको निष्ठा, सक्रियताबाट महत्वपूर्ण पाठ सिक्नुपर्ने भन्दै उहाँको महिला आन्दोलनमासमेत अतुलनीय योगदान रहेको बताउनुभयो ।
मृतक खड्काप्रति राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, राजमो केन्द्रीय सदस्य यमलाल पोख्रेल, राजमो अर्घाखाँची जिल्ला सचिव तथा भूमिकास्थान ४ का वडाध्यक्ष बाबुराम पन्थी, राजमो भूमिकास्थान नगर कमिटी अध्यक्ष टेकराज बहादुर थापा, भूमिकास्थान ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य टेकराज भुसाल लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यस क्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
मृतक खड्काको साउन १४ गते शनिबार सन्धिखर्कको गच्छेमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।





