नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टी विरोधी तत्वहरुले महामन्त्री मोहनविक्रम सिंहविरुद्ध निरन्तर हल्ला मच्चाउने गरेको बताएको छ । राजमो सांसद दुर्गा पौडेललाई मन्त्री वा उपसभामुख बनाउन महामन्त्री सिंह दौडधुपमा लागेको भन्दै षडयन्त्रकारीहरुलो योजनाबद्ध रुपमा मसाल र महामन्त्री सिंहविरुद्ध हल्ला चलाएको मसालले जनाएको छ ।
प्रवक्ता रामप्रकाश पुरीले शनिबार एब वक्तव्य प्रकाशित गरी सिलसिलेवार रुपमा मसाल विरुद्ध सञ्चारमाध्यममा निरन्तर चलाइएको हल्लाले मसाल विरुद्ध षडयन्त्रकारी तत्व योजनावद्ध रुपमा नै लागिपरेको स्पष्ट भएको बताउनुभएको छ ।
वक्तव्यमा भनिएको छ,
‘हालै प्रकाशित केही समाचारहरूप्रति नेकपा (मसाल)को ध्यान आकर्षित भएको छ । २०७६ पौष १ गतेको ताजा खबरले ‘मन्त्री माग्दै मोहनविक्रम खुमलटारमा’, पौष २ गतेको रिपोटर्स नेपाल नामक अनलाइन पत्रिकाले ‘दुर्गाका लागि मोहनविक्रम सिंहले मागे मन्त्री या उपसभामुख’ तथा पौष ५ गतेको रिपब्लीका दैनिक नामक अनलाइन पत्रिकाले ‘कान्छी पत्नीलाई उपसभामुख वा मन्त्री बनाउन पतिको दौडधुप’ शीर्षकले समाचारहरू प्रकाशित भएका छन् । ती समाचारहरू पूरै नै असत्य, निराधार, कपोल्कल्पित हुन् ।
वास्तवमा त्यस प्रकारका झुटा र निराधार समाचारहरू सिलसिलेवार र चणवद्ध प्रकारले नै प्रकाशित हुने गरेका छन् । पहिले कतिपय पत्रपत्रिका वा अनलाइनहरूले उहाँले दुर्गालाई मन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसित अनुरोध गरेको समाचारहरू प्रकाशित गरेका थिए । पछि युनाइटेड पोष्ट साप्ताहिकले भारतीय राजदुतसँग दुईघण्टा गोप्य वार्ता गरेर दुर्गा पौडेललाई मन्त्री बनाउन सहयोगका लागि अनुरोध गरेको समाचार प्रकाशित गरेको थियो । त्यसबारे आवश्यक कारवाहीको लागि नेकपा (मसाल)को प्रवक्ताका हैसियतले मैले प्रेस काउन्सीलमा लेखापढि गरेको थिएँ । पछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद का. दुर्गा पौडेलले पनि प्रेस काउन्सीलमा आवेदन दिनुका साथै काठमाडौँ जिल्ला अदालतमा पनि आवश्यक कारवाहीको माग गरेर उजुरी दिनुभएको थियो ।
कामरेड दुर्गा पौडेलले काठमाडौँ जिल्ला अदालतमा उजुरी दिएपछि त्यो पत्रिकाको कुनै ठेगाना पत्ता नलागेर अहिलेसम्म अदालतले त्यो पत्रिकाको नामको पुर्जी दाखिल गर्न सकेको छैन ।
उक्त सबै समाचारहरू निराधार र कपोलकल्पित भएको कुरा प्रष्ट नै छ । वास्तवमा कामरेड मोहनविक्रम सिंहले का. दुर्गालाई मन्त्री वा उपसभामुख बनाउनको लागि अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड समेतसित कुनै भेटघाट, कुराकानी वा टेलिफोनसमेतमा कुनै कुरा नगरेको भएपनि त्यस प्रकारका चरित्रहत्याका समाचारहरू लगातार प्रकाशित हुनु अत्यन्त तल्लोस्तरको पीत पत्रकारिता त हो नै ।
तर, त्यस सन्दर्भमा त्योभन्दा गम्भीर प्रश्न यो होः त्यस प्रकारको झुटा समाचारहरू लगातार किन प्रकाशित भइरहेका छन् ? कुनै एकाध पत्रिकाले होइन, सिलसिलेवार रूपले नै त्यस प्रकारका समाचारहरू प्रकाशित हुनुले कुनै षडयन्त्र, सनियत र योजनावद्ध प्रकारले नै त्यस प्रकारका समाचारहरू प्रकाशित भइरहेको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यस सन्दर्भमा यो अनुमान गर्न पनि मुश्किल पर्दैन कि कुनै देशी वा विदेशी गिरोहले नै कामरेड मोहनविक्रम सिंह वा दुर्गा पौडेलको चरित्र हत्या गर्ने योजनासाथ नै त्यस प्रकारका समाचारहरू प्रकाशित गर्ने गरेको छ ।
त्यस प्रकारको गतिविधि वास्तवमा नेपालको पत्रकार जगतको लागि पनि कलङ्कको कुरा हो । त्यस कारण पत्रकार जगतले पनि त्यसबारे सत्यतथ्य के हो ? पत्ता लगाएर त्यस प्रकारका झुटा समाचारहरू प्रकाशित गर्ने पत्रपत्रिकाका विरुद्ध ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।
यस सन्दर्भमा यो पनि गम्भीर कुरा हो कि कामरेड दुर्गा पौडेलले युनाइटेड पोष्टका विरुद्ध मानहानीको उजुरी गरेपछि पनि त्यो पत्रिकाको अहिलेसम्म ठेगाना पत्ता लगाउन अदालत असमर्थ भएको छ र त्यसरी युनाइटेड पोष्टले जालझेल गरेर आफ्ना विरुद्धको कानुनी कारवाहीलाई अबरुद्ध गर्ने काम गरेको छ । त्यसले प्रकाशित गरेको समाचार सत्य भएमा उ प्रमाण सहित अदालतमा आउनु पर्दथ्यो र आउनु पर्दछ । अन्यथा यसरी कसैको चरित्रमा आघात पुर्याउने कार्यको लागि उसमाथि कडा कारवाही हुनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
का. दुर्गा पौडेललाई उपसभामुख बनाउने प्रकारका समाचारहरू सञ्चार माध्यमहरूमा निकै आइरहेका छन् । त्यस बारेमा हामीले के कुरा स्पष्ट गर्न चाहन्छौँ भने हाम्रातर्फबाट त्यो कुरा कतै पनि उठाउने गरिएको छैन र कुनै पक्षद्वारा हामीहरूकहाँ त्यस प्रकारको कुनै प्रस्ताव आएको पनि छैन । त्यसकारण हामीले त्यसबारे अहिलेसम्म कुनै विचार वा छलफल पनि गरेका छैनौँ । त्यो बाहेक कामरेड मोहनविक्रम सिंहले त्यसबारे कसैसित कुरा गर्ने वा दौडधुप गर्ने ता धेरै टाढाको कुरा भयो ।
हाम्रो पार्टीको कहिल्यै त्यस प्रकारको कार्यशैली वा चरित्र रहेको छैन । त्यस प्रकारको कुनै विषयमा हाम्रो पार्टीमा कुनै विचार, छलफल वा निर्णय भएमा त्यस प्रकारका विषयहरूलाई गोप्य नराखेर सार्वजनिक रूपले नै जानकारी गराउने हाम्रो परम्परा रहेको छ । त्यसकारण त्यसबारे विभिन्न पत्रपत्रिका वा अनलाइनहरूले प्रकाशित गरेका समाचारहरू पूरै झुटो भएको कुरामा हामीले पुनः जोड दिन चाहन्छौँ ।’