काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र मधेशवादी दल राजपाबीच राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा भागवण्डाको सहमति भएको छ । राष्ट्रिय सभामा प्रदेश २ बाट आउने ४ सिटमा सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा)ले दुई दुई सिट बाँडेर लिने सहमति गरेका हुन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले प्रदेश २ का ४ सिटमध्ये दुवै दलले २र२ सिट लिनेगरी दुई बुँदे सहमति गरेका हुन् ।
‘अन्य पुरूष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त २ स्थानका लागि नेकपाले राजपालाइ सघाउने र महिला र दलित पुरूष समूहको रिक्त २ स्थानका लागि राजपाले नेकपा उमेदवारलाइ सघाउने’ सहमति भएको हो । सो सहमति प्रधानमन्त्री केपि शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा नेपालका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
राष्ट्रियसभाका एकतिहाइ (१८ जना) सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ र त्यसका लागि माघ ९ गते निर्वाचन हुनेछ । ५९ सदस्य निर्वाचित भएकोमा चिट्ठा प्रणाली लागु गर्दा १८ सदस्यको २ वर्षे कार्यकाल परेको हो । अरू एक तिहाइको ४ वर्ष र बाँकीको ६ वर्षे कार्यकाल रहेको छ ।
