बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८० करोडको लागतमा प्रादेशिक बसपार्क बन्ने भएको छ । सवारीसाधनको चाप बढ्दै जाँदा जिल्लामा अहिलेका बसपार्क साँघुरा हुँदै गइरहेको भन्दै तिलोत्तमाले १८ बिघा क्षेत्रफलमा आधुनिक बसपार्क निर्माण गर्ने अवधारणा अघि सारेको हो । अहिले भैरहवा र बुटवलमा गरी जिल्लामा दुईवटा बसपार्क छन् तर ती यी दुवै बढ्दो सवारी चाप थेग्नसक्ने क्षमताका छैनन् ।
विश्व पर्यटन केन्द्र लुम्बिनी, विशेष आर्थिक क्षेत्र (सेज), मुलुककै दोस्रो ठूलो भन्सार नाका, स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाका लगायतका कारणले पनि रुपन्देहीमा ठूलो र दीर्घकालीन योजनासहितको बसपार्क जरुरी छ । यस्तै, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा सवारी चाप थप बढ्ने भएकाले पनि यहाँ सुविधासम्पन्न बसपार्कको खाँचो छ ।
नगरप्रमुख बासुदेव घिमिरेका अनुसार नगरपालिकाको वडा नं. १३ तीनधुरा क्षेत्रमा पर्ने १८ बिघा क्षेत्रफलमा प्रादेशिक बसपार्क निर्माण गर्ने गरी प्रारम्भिक अवधाारणा तयार गरिसकेको छ ।
उनका अनुसार बसपार्कमा पेट्रोल पम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दुरिका सवारीसाधनका लागि अलग्गै पार्किङ क्षेत्र रहने गरी डिजाइन तयार गरिएको छ । बसपार्कको लागत ८० करोड हुने अनुमान गरिएको छ । प्रस्तावित बसपार्क निर्माण स्थल निर्माणाधीन गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तरतर्फ ६ किलोमिटर दूरीमा पर्छ ।
बसपार्क निर्माणका लागि तिलोत्तमा नगरपालिकाले ४८ करोड र प्रदेश पाँच सरकारले ३२ करोड लगानी गर्ने गरि प्रस्ताव अघि सारिएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले १ करोड बजेट बिनियोजन गरेर बसपार्कको डीपीआर तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ । बसपार्कमा मर्मत सम्भारका लागि वर्कसप, एकैपटकमा २५० वटा बस पार्किङ गर्न मिल्नेगरी पार्किङ क्षेत्र र ३० वटा बसले यात्रु सेवा प्रवाह गर्न मिल्नेगरी नगरपालिकाले तत्काल बसपार्कको डिजाइन तयार पारिसकेको छ ।
यस्तै, ट्याक्सी तथा निजी सवारीसाधन पार्किङ गर्न मिल्ने, बसपार्कभित्र यात्रु तथा सवारी साधनका चालक छोटोसमय आराम गर्न मिल्नेगरि प्रतिक्षाकक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकी समेत निर्माण गरिने गरी डिजाइन तयार पारिएको हो ।