काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् । मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी भएकी भट्टराइलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाइन्। ‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ।
तीन वर्ष बाँकी छन्। यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो। यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु। यी कामहरु पुरा गर्छु’, उनले भनिन् ।उपनिर्वाचनमा उनले २४ हजार ३९४ मत ल्याएकी थिइन् ।