मेर्जन शाही
हिजोआज युक्रेन र रुसबिच युद्ध चलिरहेको छ । यो युद्धको परिणाम चाहे जेसुकै होस् तर यो युद्ध हुनुका पछाडिको मुख्य कारण विश्वका दुई महाशक्ति राष्ट्रको स्वार्थको टकराव नै हो भन्ने कुरा कसैबाट लुकेको छैन ।
यस युद्धको चर्चा गर्नुपूर्व नाटोको गठन त्यसको उद्देश्य, विस्तार आदिबारे सङ्क्षेपमा चर्चा गर्ने छु ।
दोस्रो विश्वयुद्धपश्चात् गठन भएको नाटो तत्कालीन सोभियत सङ्घको डर देखाएर पश्चिम युरोपेली राष्ट्रहरूलाई आफ्नो कित्तामा पारेर अस्तित्वमा आएको थियो । नाटोको उद्देश्य केवल सोभियत रुसको शक्तिलाई कमजोर पार्नु र सोभियत रुस विरुद्ध एकजुट भएर लड्नु मात्र थियो ।
सन् नब्बेको दशकमा आएर सोभियत सङ्घको विघटन भएपछि नाटोमा आबद्ध देशहरू यसको विघटनको पक्षमा थिए तर अमेरिका यसलाई निरन्तरता मात्रै दिन चाहदैनथ्यो, बरु यसको विस्तारमा समेत लागिपरेको थियो, जसले गर्दा उसको एकाधिकार विश्वमा कहिँ कतै चुनौती नआओस्, त्यसका साथै उसलाई व्यापारलगायत आर्थिक, राजनैतिक र सैन्य गतिविधि गर्न कुनै बाधा उत्पन्न नहोस् । उसले आफ्ना हातहतियार निर्वाध रूपमा महङ्गो मूल्यमा बेच्न सकोस् । त्यसका लागि उसले सधैँ विश्वलाई युद्धको डर र त्रासमा राखिराख्न चाहन्थ्यो । सके आफै प्रत्यक्ष युद्धमा सामेल भएर वा दुई वा दुईभन्दा बढी मुलकका बिचमा आपसी द्वन्द्व गराएर उसले आफ्ना हितको रक्षा गरिरह्यो । त्यो चाहे कोरियाली युद्ध होस् या इराक कुवेतको युद्ध, भारत–पाकिस्तानबिचको विवाद होस् या इराक अफगान युद्ध, सिरिया वा लिबिया नै किन नहोस्, अमेरिका र उसको अगुवाइवाला नेटोको कुनै न कुनै रूपमा संलग्नता रहयो । त्यसको परिणामस्वरूप अमेरिकाले आफ्ना हातहतियार सहजै बिक्री गरेर अर्बौंखर्बौं त कमायो नै, उद्देश्यविहीन र अनावश्यक भएको नाटो सङ्गठनलाई पनि कुनै न कुनै रूपमा अक्सिजन प्रदान गरिरहयो । विभिन्न मुलुकमा आफ्ना सैन्यअखाडा स्थापित गरिरह्यो । अहिलेको रुसयुक्रेन युद्ध पनि त्यसैको निरन्तरता हो ।
रुसयुक्रेन युद्ध वास्तवमा अमेरिकाको लागि ढुङ्गा खोज्दा देउता मिलेसरह भएको छ । अब यो युद्धलाई कारण देखाएर उसले आफ्ना हातहतियार मात्र बेचेको छैन, बरु रुसको त्रास देखाएर नाटोको थप विस्तार गर्ने छ तथा युरोपियन मुलुकमा थप सैन्य क्याम्प खडा गर्ने छ ।
खालि एउटा मात्र उद्देश्य बोकेको नाटो सङ्गठन, जो सोभियत सङ्घको विघटन पछि मृतप्रायः अवस्थामा थियो । अर्को शब्दमा भन्र्नुपर्दा सन् नब्बेको दसकपछि नाटोको आवश्यकता केवल अमेरिकाका लागि मात्र थियो । अन्य त्योसग सम्बन्धित मुलुकका लागि त्यो गैरजरुरी सङ्गठन भइसकेको अवस्थामा यो युद्ध र युक्रेनको विनाश देखाएर अझ नाटोको विकास र विस्तारमा लागिपरेको छ । स्विडेन र फिनल्यान्ड जस्ता मुलुकले नाटोको सदस्यताका लागि आवेदन दिनु यसको पछिल्लो कडी हो ।
माथि उल्लेखि कुराबाट के कुरा अझ स्पष्ट हुन जान्छ भने रुसयुक्रेन युद्धको वास्तविक कारण केवल युस र युक्रेनको आपसी दुस्मनी मात्र होइन, यसको कारण अमेरिका र नाटो सङ्गठन अरू बढी जिम्मेवार हुन् भन्ने कुरा स्पष्ट छ । खालिल आफ्ना विरुद्ध मात्र लक्षित भएर अस्तित्वमा आएको सङ्गठनको विस्तार रुस आफ्नो सिमानासम्म भएको हेर्न चाहन्नथ्यो, जसले उसको सार्वभौमिकता र अखण्डतामाथि सिधै प्रहार गर्दथ्यो । अझ त्यहीँ माथि युक्रेन सन् नब्बेको दसकसम्म सोभियत सङ्घको हिस्सा रहेको मुलुक थियो ।
अर्कोतर्फ अमेरिका पनि नेटोको अस्तित्व र निरन्तरताका लागि भए पनि कुनै यस्तो देशको खोजीमा थियो, जोसँग रुसको खराब सम्बन्ध होस् । यतिसम्म कि अविश्वासको खाडल बढाउँदै लगेर चाहेको बेला युद्धसम्म गराउन सकियोस् । त्यही डिजाइनअन्तर्गत रहेर उसले युक्रेनको आन्तरिक राजनीतिमाथी खेल्दै आफ्नो कठपुतली सरकारको स्थापना गर्दै यी दुई देशलाई युद्धको स्थितिसम्म ल्याइपु¥यायो ।
अब हिजोआज रुस र युक्रेन आमनेसामने वारपारको लडाइ लडिरहेका बेला अमेरिका युक्रेनलाई हतियार दिइरहेको छ र नाटोको विस्तार गरिरहेको छ । युद्ध युक्रेनको भूमिमा लडिँदै छ । दिनानुदिन लाखौँलाख युक्रेनी देश छोडेर सरणार्थी भइरहेका छन् । हजाराँै हजार मरिरहेका छन् । अर्बौंखर्बौंका भौतिक संरचना ध्वस्त भइरहेका छन् ।
बाबजुद एउटा यस्तो देश, जो आफूलाई विश्वको नाइके मान्दछ, शान्ति र स्थिरताको ठेकेदार पल्टिन्छ, लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको दुहाइ दिन्छ र सारा विश्वलाई मानवताको पाठ पढाउँछ, त्यो राष्ट्र नै युद्धलाई लम्ब्याउन चाहन्छ, जसको अर्थ के हुन जान्छ भने उसले आफ्ना अभीष्ट पूरा गर्नका लागि जेसुकै पनि गर्न तयार छ, चाहे त्यसको मूल्य एक सिङ्गो हासिखेलिरहेको राष्ट्रको पूरा अस्तित्व नै खरानीमा रूपान्तरित किन नहोस् । ऊ लाखौँ युक्रेनीका लासमाथि आफ्नो प्रभुत्वको साम्राज्य स्थापित गर्न चाहन्छ । ती चाहे अमेरिकी बम हुन्, ब्रिटिस मिसाइल हुन् या फ्रान्सेली तोप बज्रिने र बर्सिने त युक्रेनी भूमिमा नै हुन् । विश्व मानचित्रबाट गायब हुने त युक्रेन नै हो ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने चाहे त्यो युद्ध युक्रेन जितोस् या रुस तर युक्रेनी जनताले कहिल्यै पनि यो युद्ध जित्ने छैनन् । यो पीडाबाट उम्किने छैनन् । यो युद्धलाई अझ भयानक रूपमा प्रस्तुत गरेर आफ्नो साम्राज्य विस्तार गर्ने अवसरको रूपमा अमेरिका र पश्चिमी मुलुक मौकाको भरपूर उपयोगमा लागिपरेका छन् ।
समयको गतिसँगै कसैले नचाहँदा–नचाहँदै पनि विश्वमा अरू प्रतिस्पर्धी र शक्तिराष्ट्रको उदय हुनु स्वाभाविकै हो । यसै क्रममा चीनले विभिन्न मोर्चामा महाशक्ति राष्ट्र अमेरिकासँग कडा टक्कर लिइरहेको छ । त्यो कुरा अमेरिका जस्तो दुष्ट राष्ट्रलाई पचिरहेको छैन । अब नाटोको प्रावधानानुसार यसको विस्तार युरोपेली मुलुकभन्दा बाहिर गर्न सकिन्नथ्यो । जापान, दक्षिण कोरिया जस्ता सीमित देशमा आफ्नो उपस्थितिलाई अन्यत्र देशमा समेत विस्तार गरेर सारा विश्वभरि आफ्नो उपस्थिति बढाउन चाहन्थ्यो । त्यसको परिणाम भनेकै इन्डो–प्यासिफिक स्ट्राटेजीको रूपमा अगाडि आएको हो ।
आई.पी.एस. भनेको विशुद्ध सैन्य रणनीति हो भन्ने कुरा प्रायः सबैलाई जानकारी भएकै विषय हो । जसरी नाटो सोभियत रुसलक्षित थियो, ठिक त्यसैगरी आई.पी.एस. चीनलक्षित सैन्य गतिविधि सञ्चालन गर्न, अझ स्पष्ट शब्दमा भन्नुपर्दा चीनलाई चारैतिरबाट घेर्न ल्याइएको हो भन्ने कुरा बुझ्न आवश्यक छ ।
नेपाल जुन भूगोलमा अवस्थित छ, त्यसका लागि नेपाल एकदम पायक पर्ने भूमि हो । अमेरिका नेपाललाई जुनसुकै मूल्यमा पनि आफ्नो सैन्य गठबन्धनमा सामेल गर्न चाहन्छ र नेपालमा आफ्नो सैन्य अखाडा स्थापित गर्न चाहन्छ । त्यसैको कडीको रूपमा एम.सी.सी. अहिले आएर एस.पी.पी. (स्टेट पार्टनरसिप) सम्झौता अगाडि आइरहेका छन् । केही थान डलर देखाएर यहाँका दलाल शासकले जनतालाई झुक्याइरहेका छन् ।
एम.सी.सी. पास भइसकेको छ । यहाँका शासकहरूले आफ्ना कमी–कमजोरी लुकाउन लाख झुट बोले पनि एम.सी.सी. आई.पी.एस. कै अङ्ग रहेको कुरा स्वयम् एम.सी.सी. को बेबसाइटमा उल्लेख छ । त्यतिले पनि नपुगेर अब अमेरिका एस.पी.पी. सम्झौता गराउन चाहन्छ ।
त्यसमार्फत् अमेरिका हिमालयको काखसम्मै आफ्नो सैन्य उपस्थिति गराउन चाहन्छ । त्यसका लागि अहिलेको यो सरकार आफूअनुकूल लागिरहेको सञ्चार माध्यमहरूले दाबी गरिरहेका छन् ।
यो सरकारले तमाम विरोधका बाबजुद एम.सी.सी. पास गर्न सफल भएको थियो । अब अझै नागरिकले ससक्त्त विरोध गरेनन् भने एस.पी.पी. सम्झौता गर्न कुनै कठिनाइ हुने छैन । अब बुझ्नुपर्ने कुरा के छ भने अमेरिकालाई नेपाली सेनासँग अभ्यास गर्नुपर्ने, त्यो पनि लगातार पाँच वर्षको सम्झौतासहित† त्यो पनि चीनको सीमानजिकै गएर । ठिक त्यही बेला, जुन बेला रुस र युक्रेन युद्ध लडिरहेका छन् । चाइना र ताइवानबिच तनातनी चलिरहेको छ । यसको के अर्थ र अभिप्राय हुन्छ ? मुख्य बुझ्नुपर्ने कुरा त्यही हो ।
हिजो हामी जे सोचिरहेका थियौँ या जे भनिरहेका थियौँ, कुरा त्योभन्दा पनि कैयौँ अगाडिको छ । कुरा अझ युक्रेनरुस युद्धसँग जोडेर हेर्दा थप स्पष्ट हुन जान्छ । आज रुससँग को लडिरहेको छ ? जवाफ आउँछ, युक्रेन तर कसका लागि लडिरहेको छ ? कुरा सिधा छ, अमेरिकी हितका लागि । कसले लडाइरहेको छ ? अमेरिका र पश्चिमी मुलुकले । किन लडाइरहेको छ ? विभिन्न मुलुकमा आफ्नो सैन्य उपस्थितिलाई जायज ठहराउँदै थप सैन्य क्याम्प निर्माण गर्न तथा हातहितयारको खपत बढाउन, साथै नाटो जस्ता सङ्गठनलाई निरन्तरता दिइरहन, जसले हतियारको बजार मात्र होइन, अन्य आर्थिक बजार पनि सुरक्षित बनाइरहोस् । यसका लागि उसलाई युद्ध अनिवार्य आवश्यकता थियो ।
अझ भन्नुपर्दा दोस्रो विश्युद्धपश्चात् अमेरिका नै यस्तो देश हो, जो युद्धबिना बाच्नै सक्दैन । भियतनाम, इराक, अफगानिस्तान, कोरिया, सिरिया, लिबिया हुँदै अहिलेको रुसयुक्रेन युद्ध यसका उदाहरण हुन् । फरक यत्ति हो कि युक्रेन युद्ध वास्तवमा अमेरिकाको युद्ध हो तर लडिदिएका वा लडाइएका युक्रेनी र सैनिकले हो । कुरा ठिक त्यस्तै हो, हिजो हामीले भन्ने गरेको नेपालमा अमेरिकी सैनिक आउने कुरादेखि लिएर अमेरिका–चाइनाबिच लडाइँ हुने दुबैतिरका बम नेपाली भूमिमा बर्सिने । त्यो कुरा त हुँदै हो, त्यो भन्दा पनि पर अब अमेरिकाका लागि युद्ध पनि नेपाली र नेपाली सेनाले नै लडिदिनुपर्ने भएको छ । यसको चारपाँच वर्षको अवधिमा यिनी नालायक शासकलाई प्रयोग गरेर यस्तो कूटनीतिक खेल खेलिने छ, जसको परिणाम सदियौँदेखि सौहार्दपूर्ण अवस्थामा रहेको हाम्रो छिमेकी मुलुकसँगको सम्बन्धलाई यो वा त्यो बहानामा बिगारिने छ । त्यसको परिणामस्वरूप देशलाई युद्धको स्थितिसम्म पु¥याइने छ र युद्ध गराइने छ । नेपाल जस्तो सानो अल्पविकसित राष्ट्रलाई जबर्जस्ती युद्धमा धकेलिने छ । त्यसको परिणाम हिमालयको काखमा रहेको सानो सुन्दर देशको अस्तित्व नै समाप्त पारिने छ । उनीहरूको लडाइँ हामीलाई लड्न बाध्य पारिने छ । हामीलाई देखाएर अमेरिका जस्तो दुष्ट राष्ट्रले आफ्नो सैन्य उपस्थिती बढाउँदै थप निमुखा देशलाई आफ्नो कित्तामा आउन बाध्य पार्ने छ ।
अब यहाँनेर प्रश्न यो आउँछ कि अमेरिका किन आफै युद्ध नलडेर साना साना देशलाई ठुला राष्ट्रसँग लडाएर आफू पछाडिबाट लड्न प्रेरित गरिरहेको छ । त्यसको जवाफ युक्रेन युद्धको एउटा घटनाबाट पाउन सकिन्छ ।
भर्खरैको कुरा हो, युक्रेनले लामो दुरीसम्म हान्न सक्ने मिसाइल माग गर्दा अमेरिकाले दिन मानेन र मध्यम दुरीका मिसाइल दिँदा पनि यो सुनिश्चितता खोज्यो कि आफूले दिएको मिसाइलको प्रयोग रुसी भूमिमा गरिने छैन । यदि त्यसो भएको खण्डमा रुस र अमेरिकाको सिधा टकराव हुने छ, जो अमेरिका चाहँदैनथ्यो । त्यो अमेरिका, जो इराकमा रासायनिक तथा जैविक हतियार रहेको बहाना गरेर युद्धमा होमिएको थियो, त्यही अमेरिका शक्तिराष्ट्रसँग टकराव चाहँदैन ।
कुरा स्पष्ट छ, शक्तिराष्ट्रसँग लड्नु इराक, अफगान वा भियतनाममा लडे जस्तो सजिलो छैन । दुनिया परमाणु अस्त्रको खतरामुनि बाँचिरहेको छ । यस्तो अवस्थामा अमेरिकालाई आफ्ना ससाना हितको चिन्ताले पिरोलिरहन्छ । परमाणु बम खसे पनि अर्कैको भूमिमा खसोस् । नष्ट भए पनि अर्कैको भूमि होस् या मारिए पनि अर्कै देशका नागरिक मारिउन् तर आफ्नो साम्राज्य मात्र विस्तार भइरहोस् भन्ने कुरा नै उसको वास्तविक रणनीतिक चाहना हो । ऊ यही रणनीतिअन्तर्गत रहेर हाम्रा जस्ता अस्थिर तथा कमजोर मुलुकलाइ पासोमा पारिरहेको छ ।
अमेरिकाले हामीलाई कतिसम्म भने एम.सी.सी. सम्झौता को म्याद पटक पटक सकिँदा पनि फिर्ता नलिएर बारम्बार म्याद थप्दै ताकेता गर्दै पास गर्न सफल भएको छ । धम्की पनि यस्तो कि उसको अनुदान सहायता नलिए देशै नरहने । यो कस्तो प्रकारको दान हो ? कस्तो प्रकारको सहयोग हो ? बुझ्नका लागि खासै दिमाग खर्चिनुपर्दैन । अब रुससँग युद्धका लागि युक्रेन बलिको बोको भए झैँ चाइनासँग युद्धका लागि नेपाल बलिको बोको हुनुपर्ने छ ।
यस्ता पचास, साठी करोडका किस्ता अरू पनि थुप्रैपटक देशमा आउने छन् । नेताका छोराछोरी आफन्तहरू स्कलरसिपमा अमेरिका, बेलायत जान पनि पाउने नै छन् । सुरासुन्दरी र सम्पुर्ण यसआराम उपलब्ध गराउन कुनै कसर बाँकी राखिने छैन । उनीहरूलाई मानसिक रूपमा पूर्णतया तयार गरिने छ कि नेपालको विनाशपश्चात् पनि सुन्दर दुनिया उनका लागि प्रतीक्षा गरिरहने छ । तिम्रा र तिम्रा सन्तानको अबको भविष्य युरोप र अमेरिका हो भन्ने कुरा आश्वस्त पारिने छ । गरिब नेपालीका छोराछोरीले गैरजरुरी लडाइ अर्कैका निम्ति लडिदिनुपर्ने छ ।
यो देश आज लेन्डुप दोर्जे र अशरफ घानीहरू जस्ता प्रवृत्तिको सिकार भइरहेको छ, जसले आफ्नो हाँसिखेलिरहेको मुलुकलाई अनिश्चितताको भुमरीतिर धकेलिरहेका छन् । देशमा अहिले विद्यमान रहेका मुख्य राजनीतिक दल र तिनका नेतामा चरम प्ररकारको सत्तालिप्सा झुट, बेइमान, अराजकता देखिएका छन् । राष्ट्र, राष्ट्रियता देश र जनताप्रति अनुत्तरदायी शासकद्वारा शासित हुनुपरिरहेको छ ।
यिनीहरू पदपैसा र प्रतिष्ठाका लागि जुनसुकै हद पनि पार गर्न सक्दछन् । कमसेकम यिनी नालायकलाई सत्ता र शक्तिबाट विस्थापित नगरिकन देश र जनताले राहत पाउने छैन । यो देशलाई यहाँका जनतालाई जोगाउनु छ भने सशक्त प्रकारको आन्दोलन, जसले तमाम प्रकारका विकृति, विसङ्गतिको अन्त्य गरोस् । अब अपरिहार्य भइसकेको कुरामा कुनै शङ्का र दुई मत छैन ।

