काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले प्रत्येक तीन महिनामा फरक फरक विषयमा कार्यक्रम गर्ने भएको छ ।
अध्यक्ष समीर सिंहको हस्ताक्षरमा २०७९ जेठ ३० गते सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
प्रेसविज्ञप्तिमा प्रत्येक महिनाको अन्तिम आइतबार साँझ ७ बजे भर्चुअल माध्यमबाट कार्यक्रम गरिने र त्यस क्रममा पहिलो महिना रचना वाचन, दोस्रो महिना वैचारिक कार्यक्रम र तेस्रो महिना कार्यशाला कार्यक्रम सम्पन्न गरिने छ ।
त्यसैगरी, बैठकले केन्द्रीय सचिवालय, केन्द्रीय कार्यालय गठन, प्रदेश समितिको इन्चार्ज, घोषणापत्र र विधानको मस्यौदा निर्माण तथा प्रकाशनबारे पनि आवश्यक निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा), केन्द्रीय सङ्गठन समितिको बैठक अध्यक्ष समीर सिंहको अध्यक्षतामा २०७९ जेठ २९ गते आइतबार नेपाली समयानुसार साँझ ७ बजे भर्चुअल माध्यमबाट बस्यो । बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू जानकारीका लागि यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।
१. केन्द्रीय सचिवालय गठन गरिएको छ । सचिवालयमा अध्यक्ष समीर सिंह, उपाध्यक्ष गिरीप्रसाद बुढा, महासचिव प्रकाश थापामगर, सचिव मीन राना, कोषाध्यक्ष बाबुराम आचार्य, सदस्यहरू कमल कार्की र खिमराज चालिसे रहनुभएको छ । त्यसैगरी अध्यक्ष, उपाध्यक्ष र महासचिव रहेको केन्द्रीय कार्यालय पनि गठन गरिएको छ ।
२. अन्पाको प्रदेश इन्चार्ज तोकिएको छ । जसअनुसार १ नं. प्रदेशमा कमल कार्की, बागमती प्रदेशमा प्रकाश थापामगर, गण्डकी प्रदेशमा समीर सिंह, कर्णाली प्रदेशमा गिरीप्रसाद बुढा, सुदूर पश्चिम प्रदेशमा बाबुराम आचार्य, भारतमा खिमराज चालिसे र तेस्रो मुलुकमा मीन राना रहनुभएको छ ।
३. तत्कालै अन्पाको मस्यौदा घोषणापत्र र विधान तयार पार्ने निर्णय गरिएको छ । त्यसका लागि जिम्मा विभाजन गरिएको छ ।
४. प्रत्येक तीन महिनामा पालैपालो रचना वाचन, वैचारिक कार्यक्रम र कार्यशाला सम्पन्न गर्ने गरी मासिक कार्यक्रम तय गरिएको छ । कार्यक्रम प्रत्येक महिनाको अन्तिम आइतबार साँझ ७ बजे भर्चुअल माध्यमबाट गरिने छ ।
५. अहिलेसम्मका सम्पन्न भएका अन्पाका मासिक कार्यक्रममा प्रस्तुत अवधारणा पत्र, समाचार, वाचन गरिएका रचनालगायतलाई सामेल गरेर प्रकाशनको योजना बनाइएको छ ।”