प्रकाश थापा मगर
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले सरकारले सीमा विवाद टुङ्ग्याउन उच्चस्तरमा लागिनपरेको आरोप लगाउनुभएको छ । ‘नेपाल–भारतको पश्चिमी सीमा महाकाली नदी हो, महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा हो’ महासचिव शर्माले भन्नुभयो– ‘त्यसका पक्षमा नेपालसित बलिया प्रमाणहरू छन् । फेरि पनि सरकार उक्त समस्या समाधान गर्न उच्चस्तरमा लागेन ।’
राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानका काठमाडौँ जिल्ला समितिको आयोजनामा २०७६ मङ्सिर २८ गते राजधानीको बसुन्धराचोकमा आयोजित सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै महासचिव शर्माले लिम्पियाधुराभन्दा धेरै पूर्वमा रहेको लिपुखोलालाई महाकाली नदीको मुहान ठान्ने भारतीय षड्यन्त्रका विरुद्ध सशक्त रूपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘सत्तालोलुपता नेपाली राजनीतिक दलहरूको सामान्य स्वभाव बनिसकेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसकारण नेपाली राष्ट्रियताको आन्दोलनलाई जनस्तरबाटै सशक्त बनाउनुपर्दछ ।’ उहाँले राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाएर मात्र नेपाली राष्ट्रिय सार्वभौमिकता र भू अखण्डताको रक्षा गर्न सकिने पनि बनाउनुभयो ।
सभामा सम्बोधन गर्दै अर्का अतिथि नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले राष्ट्रियताको आन्दोलन आफैमा जागरणपूर्ण आन्दोलन भएको बताउनुभयो । ‘शासकवर्गले पटक पटक राष्ट्रघाती सम्झौता गरेका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘खालि देशभक्त जनताको आन्दोलनले मात्र वीर भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरको सहादतलाई बचाएको छ ।’ उहाँले जनताको खबरदारी नभए इतिहासमा जस्तै शासकवर्गमा पटक पटक कमजोरी भइरहने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेले नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतले अतिक्रमण गर्दा पनि नेपाल सरकार अझ गम्भीर नभएको बताउँदै त्यसका विरुद्ध सम्पूर्ण देशभक्त जनताले आन्दोलनको आँधीबेहरी सृजना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा राजमो नेता आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय कोषाध्यक्ष भोला ढकाल र अखिल (छैठौँ) का केन्द्रीय सदस्य पुरन पोख्रेलको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मधु क्षेत्रीले आमा शीर्षकको कविता तथा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गर्नुभएको थियो ।

