काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । राजधानी काठमाडौंसहित धेरै स्थानमा आज पानी परेको छ । पानीसँगैको हिमपातले जनजीवन प्रभावित बनेको हो ।भारी हिमपातका कारण जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिएका छन् ।

फोटो गणेशसिंह ऐरीको फेसबुकबाट ।
मंसिर महिनाको अन्तिम साता परेको हिउँले यहाँका किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताए । जुम्लामा पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला सही समयमा हिउँ परेको छ । हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताए ।
हिउँ परेकाले अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जनकारी दिए । हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ ।
यता, सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हिमपातका कारण जनजीवन प्रभावित बनेको छ भने तराईका कैलाली र कञ्चनपुरमा वर्षाले चिसो झन् बढेको छ ।

