काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालमा विभिन्न चारवटा परियोजना कार्यान्वयन गर्न ३५ करोड ८० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ । एडीबी र नेपाल सरकारबीच चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ ।
पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि सरकारले एडीबीसँग सम्झौतामा गरेको हो । ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा मंगलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरे ।
कार्यक्रममा एडीबीका देशीय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदिको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए ।
कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए । त्यसमध्ये एडीबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताए। उनले उक्त सडकखण्डको आँबु खैरेनीदेखि पोखरा सम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताए ।
अर्थसचिव खनालले सडकको स्तरोन्नती गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पु¥याउने विश्वास गरे। एडीबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामिण विकासका लागि सहयोग गर्दै आएको छ ।