सुरेश थापा
कुनै लक्ष्यप्राप्तिका लागि अनुशासनको प्रश्नले गम्भीर महत्व राख्दछ । लक्ष्यप्राप्तिका लागि निश्चित नियमहरू बनेका हुन्छन् । ती नियमको सही प्रकारले पालना गर्नु नै अनुशासन हो । जब अनुशासन कमजोर हुन्छ, त्यहाँ नियमहरू ठिक रूपमा लागु भइरहेका हुँदैनन् । त्यसको परिणाम लक्ष्यअनुसार काम अगाडि बढ्न सक्दैन । प्रकृति, समाज वा जीवन सबैका लागि त्यही कुरा सत्य हो । प्रकृति, समाज वा जीवन सञ्चालनका लागि पनि नियम बनेका छन् । घरव्यवहार, खेतीपाती, व्यवसाय आदि सञ्चालनका पनि आफ्नै नियम छन्, जसको अनुशासित रूपमा पालन नभइकन प्रगति हुन सक्दैन । ठिक त्यसै गरेर कम्युनिस्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पनि खास नियम र विधि बनेका छन्, जसको सही रूपमा पालन नगरी क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सम्भव छैन । ती नियमको सही ढङ्गबाट पालन गनु नै पार्टी अनुशासन हो ।
माक्र्स–एङ्गेल्सको बेला कम्युनिस्ट पार्टी र बुर्जुवाको पार्टी सञ्चालनका विधि एकै प्रकारका थिए । त्यहाँ एउटै पार्टीमा थुप्रै गुट हुन्थे । पार्टी निर्णयको सार्वजनिक रूपमा विरोध गर्न छुट हुन्थ्यो । जसले जे गरे पनि वा नगरे पनि हुने वा आफ्नो पक्षले गल्ती गरे ढाकछोप गर्ने र विरोधी पक्षले गल्ती गरे विरोध गर्ने गरिन्थ्यो । आफ्नो गुटको अलग्गै बैठक बसेर केन्द्रीय समितिको बैठकमा उपस्थित हुने गरिन्थ्यो । पार्टीमा एकीकृत अनुशासन भन्ने कुनै कुरा हुदैनथ्यो । अहिले पनि बुर्जुवा पार्टीहरू त्यही पुरानो विधिअनुसार चल्दै आएका छन् । नेपालमा पनि वुर्जुवा पार्टीहरू त्यसरी नै चलिरहेका छन् ।
लेनिन पूरानो प्रकारको सङ्गठनात्मक विधिबाट कम्युनिस्ट पार्टीले आफ्नो अभिभारा पूरा गर्न नसक्ने निस्कष्र्षमा पुग्नुभयो र नयाँ प्रकारको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तो “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टी, त्यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारा वर्गको नेतृत्व गर्न सक्दछ, यस्तो अनुभवी पार्टी, जसले क्रान्तिकारी परिस्थितिमा जटिल अवस्थामा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र त्यस्तो लचिलो पार्टी, जो आफ्नो लक्ष्यप्राप्तिको बाटोमा सारा लुकेका चट्टानबाट जोगिएर अघि बढ्न सक्छ ।” त्यस्तो पार्टीले मात्र सर्वहारा वर्गको क्रान्तिको अभिभारा पूरा गर्न सक्छ । त्यस प्रकारको नयाँ ढाँचाको पार्टी निर्माणका लेनिनले जोड दिनुभयो र पार्टी सञ्चालनसम्बन्धी नयाँ प्रकारको अवधारणा अगाडि सार्नुभयो । त्यससम्बन्धी मेन्सेभिकको विरुद्ध चलेको सङ्घर्षको बीचबाट त्यो अवधारणाले ठोस र मूर्त रूप लिन पुग्यो र लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको विकास भयो । त्यही सिद्धान्त अहिले संसारभरिका कम्युनिस्टले स्वीकार गर्दै आएका छन् । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा आधारित पार्टी सञ्चालनका विधिको दृढताका साथ पालन गर्नु नै कम्युनिस्ट अनुशासन हो ।
पार्टीको उद्देश्य प्राप्तिका लागि क्रान्तिकारी सिद्धान्त पहिलो शर्त हो । तर क्रान्तिकारी सिद्धान्त त्यतिबेला मात्र कार्यान्वयन हुन सक्छ, जतिबेला पार्टीमा क्रान्तिकारी अनुशासन कायम हुन्छ अर्थात् क्रान्तिकारी अनुशासनले मात्र उक्त क्रान्तिकारी सिद्धान्त, नीति तथा कार्यक्रमको कार्यान्वयनको सुनिश्चितता गर्न सक्छ । क्रान्तिकारी अनुशासन बिना पार्टीका नीति र निर्णय सही रूपमा कार्यान्वयन हुन सक्दैनन् । यस अर्थमा पार्टीमा अनुशासनको प्रश्नले महत्वपूर्ण स्थान राख्दछ । सम्पूर्ण पार्टीमा एकमना एकता छैन भने, प्रत्येक सदस्य आफ्नै तरिकाले चल्ने र चाहेअनुसार मात्र गर्ने परिपाटी भयो भने, काममा एकरूपता र एकता छैन भने, पार्टीको आधारभूत नीति कसरी लागु होला ? त्यस्तो पार्टीले सर्वहारा वर्गको नेतृत्वदायी भूमिका निर्वाह गर्न कसरी सम्भव होला ? पार्टी एकतालाई मजबुत र सुदृढ बनाउन, सङ्गठनलाई सुदृढ बनाउन र क्रान्तिमा विजय हासिल गर्न पार्टी अनुशासन एउटा आवश्यक सर्त हो । त्यसकारण कम्युनिस्ट पार्टीका सदस्य सचेत ढङ्गले अनुशासनमा चल्नुपर्छ र त्यसलाई पालन गर्नुपर्छ ।
लेनिनले सिङ्गो पार्टीमा एकीकृत अनुशासन हुनुपर्ने कुरामा जोड दिनुभयो र भन्नुभयो– व्यक्ति सङ्गठनको अधिनस्त, अल्पमत बहुमतको अधिनस्त, तल्ला समिति उपल्लो समितिको अधिनस्त, सिङ्गो पार्टी केन्द्रीय समितिको अधिनस्त र केन्द्रीय समिति महाधिवेशनको अधिनस्त हुनुपर्छ । व्यक्ति सङ्गठनको अधिनस्तको अर्थ हुन्छ, पार्टीका सदस्य पार्टीका निर्णय र निर्देशनको अधिनस्त हुनु अर्थात् सबै सदस्यहरूले पार्टीका निर्णय र निर्देशन बिना शर्त मान्नुपर्छ, दृढतापूर्वक लागु गर्नुपर्दछ र कुनै पनि बहानामा तिनीहरूको उल्लङ्घन गर्नु हुदैन भन्ने हो । तर पार्टीको निर्णय र निर्देशनप्रति सहमत नहुने पार्टी सदस्यले आफ्नो मत आफ्नो सम्बन्धित समितिमा सुरक्षित राख्न पाउने अधिकार राख्छन् । साथै उपल्लो समितिमा वा सिधै केन्द्रीय समिति पठाउन सक्छन् । तर तल्ला समिति वा असम्बन्धित समिति वा सार्वजनिक रूपमा आफ्ना मत प्रकट गर्न मिल्दैन । पार्टी निर्णय र निर्देशनमा असमत भए पनि पार्टीका निर्णय र निर्देशन लागु गर्न र गराउन दृढतापूर्वक लाग्नुपर्दछ अर्थात् सम्पूर्ण सदस्यले पार्टीका निर्णय र निर्देशन स्वीकार गर्नुपर्छ । कुनै तर्क वा बहानामा त्यसको उल्लङ्घन पार्टी अनुशासनको उल्लङ्घन हो ।
अल्पमत बहुमतको अधिनस्तको अर्थ हो– पार्टीका निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने गराउने बेला अल्पमतले बहुमतलाई समर्थन गर्नु । कार्यान्वयनका बेला अल्पमतको विचार भन्ने हुदैन । त्यहाँ पार्टीको निर्णय के हो भन्ने प्रश्न मात्र बाँकी रहन्छ । पार्टीको निर्णयलाई सबै सदस्यले कडाइपूर्वक लागु गर्नु/गराउनु पर्दछ । निर्णय पूर्व छलफल हुन्छ, त्यतिबेला पार्टीको नीति, निर्णय वा विचारमा विरोध हुन सक्छ, असहति हुन सक्छ । तर निर्णय भएपछि उक्त निर्णयलाई सबैले मान्नुपर्छ । आवश्यक प-यो भने कुनै सदस्यले आफ्नो फरक विचार पुनः छलफलको विषय बनाउन सक्छ, तर कुनै हालतमा कार्यान्वयनमा विरोध जनाउन पाइँदैन । त्यसैलाई लेनिनले “छलफलमा स्वतन्त्रता र काममा एकता” भनेर बताउनुभएको छ ।
तल्लो तह माथिल्लो तहको अधिनस्तको अर्थ माथिल्लो तहका सङ्गठनले निर्धारण गरेका निर्णय, निर्देशन र काम तल्लो तहका समितिमा कार्यान्वयनको ग्यारेन्टी हुनुपर्छ भन्ने हो । सिङ्गो पार्टीको निर्णय र हितको पक्षमा सबै समिति उभिनुपर्दछ, उनीहरूलाई एउटा हिस्साको हितमा उभिने छुट हुँदैन । तल्ला सङ्गठन उपल्लो समितिको निर्णय र निर्देशन अस्वीकार गर्न वा त्यसको विरोधमा जान मिल्दैन ।
पूरा पार्टी केन्द्रीय समितिको अधिनस्तको अर्थ हो– केन्द्रीय समितिको नीति, निर्देशन वा निर्णयअनुसार बोल्नु र काम गर्नु । यो पार्टी अनुशासनको सर्वोच्च सिद्धान्त हो । केन्द्रीय समिति सिङ्गो पार्टी सङ्गठन, आन्दोलन र जनताको नेतृत्वदायी केन्द्र हो । उसका नीति, कार्यक्रम, निर्देशनले सर्वहारा वर्ग र आम जनताको प्रतिनिधित्व गरेको हुन्छ ।
यसले क्रान्तिको विजय प्राप्त गर्ने कुराको ग्यारेन्टी गर्दछ । त्यसैले केन्द्रीय समितिले गरेका निर्णय वा निर्देशनको सम्पूर्ण पार्टी समितिले अवज्ञा, अवहेलना वा अस्वीकार गर्न सक्दैन । केन्द्रीय समितिका निर्णय वा निर्देशनलाई दृढतापूर्वक कार्यान्वयन गर्नु/गराउनु सम्पूर्ण पार्टी समितिको अनुशासन हो । यसले सिङ्गो पार्टीमा एकीकृत अनुशासन कायम गराउँछ । त्यो नै फलामे अनुशासन वा सर्वहारा अनुशासन हो । त्यही एकीकृत अनुशासनले पार्टीमा सर्वहारा एकता कायम गराउँछ । त्यसैले अनुशासन पार्टी एकताको आधार पनि हो । जहाँ अनुशासन छैन, त्यहाँ गुट–उपगुटले जन्म लिन्छन् । अराजकताले स्थान जमाउँछ । त्यस्तो पार्टीमा बलियो एकताको कल्पना कसरी गर्न सकिएला ? त्यसैले पार्टीएकतालाई बलियो बनाउन अनुशासनलाई बलियो बनाउनु आवश्यक छ ।
केन्द्रीय समिति महाधिवेशनको अधिनस्त भन्नुको अर्थ हो– केन्द्रीय समितिले कुनै पनि निर्णय गर्दा महाधिवेशनप्रति उत्तरदायी हुनु पर्छ । महाधिवेशनले लिएका आधारभूत नीति, सिद्धान्तलाई अतिक्रमण गरेर अन्य निर्णय लिने वा निर्देशन दिने अधिकार केन्द्रीय समितिलाई हुँदैन । महाधिवेशनले लिएको नीति र सिद्धान्तको सीमाभित्र रहेर नै केन्द्रीय समितिले निर्णय लिन वा निर्देशन गर्न सक्छ । यसो गर्नु केन्द्रीय समितिको अनुशासन हो । केन्द्रीय समितिलाई स्वैच्छाचारी हुन नदिन यो विधिले महत्वपूर्ण स्थान राख्दछ ।
अल्पमतका विचार तल्ला समितिमा लैजानु वा सार्वजनिक रूपमा व्यक्त गर्नु अनुशासनको उल्लङ्घन हो । तर खास अवस्थामा अल्पमतका विचार पनि तल्ला समितिमा छलफलमा लैजान सकिन्छ भने कतिपय अवस्थामा पार्टीका निर्णयसमेत पार्टीभित्र मात्र होइन, सार्वजनिक रूपमा समेत पनि छलफलको विषय बन्न सक्छन् । एउटा खास अवस्था महाधिवेशनको अवस्था हो । त्यो बेला पार्टीको निर्णय र विधिअनुसार अल्पमतका विचार पनि तलैसम्म छलफलमा जान्छन् । अर्को अवस्था हो– कुनै खास विषयमा पार्टीले सार्वजनिक रूपमा छलफल चलाउने निर्णय गर्न सक्छ । त्यस्तो अवस्थामा सबै सदस्यलाई आफ्ना विचार स्वतन्त्र रूपमा अभिव्यक्त गर्न छुट हुन्छ । तर पार्टीले सार्वजनिक छलफलका लागि निर्णय गरेको विषयमा बाहेक अन्य विषयमा उक्त छुट प्राप्त हुँदैन । अर्को अवस्था हो– केन्द्रीय समितिले महाधिवेशनले निर्धारण गरेका नीति–सिद्धान्तको उल्लङ्घन गरेको अवस्था । त्यस्तो अवस्थामा महाधिवेशनले गरेका निर्णयको रक्षाका लागि सदस्यले पार्टीभित्र विद्रोह गर्दछन् । त्यस प्रकारको विद्रोह गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य, अधिकार र अनुशासन हो अर्थात् त्यस्तो अवस्थामा अनुशासन उल्लङ्घन गर्नु पनि अनुशासन हुन जान्छ । त्यसैले अनुशासनलाई अन्धसमर्पणको रूपमा होइन, सापेक्षतामा बुझ्नुपर्दछ ।
सर्वहारा अनुशासन “सचेत अनुशासन” हो । त्यो बुर्जुवा अनुशासनभन्दा आधारभूत रूपमै भिन्न छ । बुर्जुवा अनुशासन जनताको शोषणको आधारमा स्थापित हुन्छ र यो उत्पीडनकारी उपाय तथा झुटमार्फत् मात्र पालना हुन्छ । तर सर्वहारा अनुशासन उच्च प्रकारको चेतनामा आधारमा आधारित हुन्छ । लेनिनले पार्टीभित्र “सचेत अनुशासन” मा जोड दिनुभएको छ । त्यो भनेको स्वेच्छापूर्वक अनुशासनको पालना गर्नु हो । त्यसैले पार्टी अनुशासन अनिवार्य भए पनि यसको प्रयोग सर्वथा पार्टी सदस्यको उच्च प्रकारको चेतनामा भर पर्दछ । त्यस प्रकारको अनुशासनले मात्र फलामे अनुशासन पैदा गर्न सक्छ । जबर्जस्त लादिएको अनुशासनले शक्ति निर्माण गर्न सक्दैन । एउटा सदस्यको जति पार्टी, क्रान्ति र परिवर्तनप्रति दृढ विश्वास र समर्पण बढ्दै जान्छ, ऊ अनुशासनप्रति पनि सचेत र इमान्दार बन्दै जान्छ । यस प्रकारको उच्च दृष्टिकोणका कारण कुनै पनि कार्यकर्ताले पार्टीका जिम्मेवारी सक्रियतापूर्वक पूरा गर्छ, व्यक्तिगत महत्वाकाङ्क्षा वा चाहनाभन्दा माथि उठेर पार्टीको काममा जीवन दिन तयार हुन्छ । उच्च प्रकारको चेतनाले पार्टी अनुशासनप्रति सम्मानभाव पैदा गराउँछ र दृढतापूर्वक लागु हुन्छ । त्यसैलाई लेनिनले “सचेत अनुशासन” भन्नु भएको हो । पार्टी सदस्यको उच्च प्रकारको चेतनासँगसँगै सर्वहारा अनुशासन पनि सुदृढ बन्दै जान्छ ।
अनुशासनलाई हरेक कार्यकर्ताले आफ्नो जीवनशैलीका रूपमा स्वीकार गर्नुपर्छ । जब त्यो कुरा स्वीकार्य हुँदैन, उसका लागि अनुशासन स्वतः दासता हुन जान्छ । त्यस प्रकारको विचारले पार्टीमा फलामे अनुशासन कायम गर्नु सम्भव हुँदैन । जसले पार्टीको नेतृत्वदायी भूमिकालाई कमजोर बनाउँछ ।
उच्च प्रकारको अनुशासनले उच्च प्रकारको चेतनाको माग गर्छ र उच्च प्रकारको चेतनाले उच्च प्रकारको अनुशासन कायम गर्छ । त्यसैले पार्टीमा उच्च प्रकारको सर्वहारा अनुशासन कायम हुन पार्टी कार्यकर्ता र सदस्यहरूको दृष्टिकोण उठाउनु जरुरी छ । त्यसका लागि कम्युनिस्ट पार्टीले विशेष ध्यान दिनु आवश्यक हुन्छ ।