काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिनसम्म नेपालले ४१ स्वर्ण जितेको छ । शुक्रबार नेपालले पाँच स्वर्ण पदक थपेको हो । आजसम्म १ सय ६९ वटा स्वर्ण पदकको टुंगो लागेको छ ।
भारतले अहिलेसम्म ८१ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ४१ वटा स्वर्ण पदकमा बाजी मारेको छ । आज नेपालले हात पारेका पदकहरुमा दाैडमा गोपीचन्दा पार्की, गल्फ एकल विधामा सुवास तामाङ र टिम इभेन्ट, भारोत्तलनमा विकास थापा र पौडीमा गौरिका सिंहले दुईवटा स्वर्णपदक जितेका हुन्।
नेपाल ४१ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका २३ स्वर्ण सहिता तेस्रो स्थानमा छ भने पाकिस्तान १९ स्वर्ण सहित चौथो स्थानमा छ । यता बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ । भुटानले हालसम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन ।
प्रतियोगितामा भारतले ५९ रजत जितेको छ । रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ४२ रजत जित्दा नेपाल २७, पाकिस्तान २५ र बंगलादेशले १८ रजत जितेको छ । माल्दिभ्स र भुटान रजत विहीन अवस्थामा छन् ।
श्रीलंकाले ६९ काँस्य जितेको छ । यता बंगलादेशले ५१ नेपालले ४८, पाकिस्तानले २९, भारतले २५, भुटानले ६ र माल्दिभ्स २ वटा काँस्य जितेको छ ।
