काठमाडौं । उच्च तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ ।
काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेजमा सुरु भएको महाधिवेशनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने हिसानले जनाएको छ ।
महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘शिक्षाको विकासका लागि निजी क्षेत्रको समेत महत्वपूर्ण योगदान रहेको छ’ उहाँले भन्नुभयो ‘अबको अवस्थामा शिक्षा क्षेत्रलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन सक्नुपर्छ ।’
महाधिवेशनलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका चारवटा ऐनको मस्यौदा कानुन मन्त्रालयमा थन्किएको बताउनुभयो । पौडेलका अनुुसार संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन, उच्च शिक्षा ऐन, चिकित्सा प्रतिष्ठान ऐन चाँडै ल्याइने छ।
हिसानका अध्यक्ष रमेश सिलवालले उद्घाटन सत्रमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।