बुटवल । गठबन्धनमा रहेका पाँच राजनीतिक दलले लुम्बिनी प्रदेशमा प्रदेस्तरबाटै चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । बुधबार बसेको गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको विज्ञप्तिमा जनाएका छन् ।
बैठकले तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषणसहितको रिपोर्ट पेश गर्ने निर्णय गरेको छ ।
यस्तै, स्थानीय पालिका र जिल्लाहरुले गरेको सहमतिलाई प्रदेशले सकारात्मक रुपमा लिएको छ।
बैठकले कुनै पालिकामा समस्या रहेमा प्रदेश तहबाट कार्यदल निर्माण गरी स्थलगत अनुगमनका आधारमा समस्याको समाधान गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी प्रदेश र जिल्लामा आवश्यकता अनुसार गठबन्धन दलको बैठक बस्ने, गठबन्धनको आवश्यकता र महत्वबारे जनस्तरमा बोध हुनगरी प्रदेशस्तरीय संयुक्त सभाको आयोजना गर्ने निर्णय गरिएको छ भने हालसम्म जिल्लाले गरेको गठबन्धनको सकारात्मक पहलहरुलाई स्वागतसहित अझै प्रभावकारी ढंगले निष्कर्षमा पुर्याउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्रे आलमको हस्ताक्षर रहेको छ ।
