काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले भूमि बैङ्क स्थापनाको प्रक्रिया तुरन्त बन्द गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७८ चैत ८ गते जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।
गत ओली सरकारले स्थापना गर्न खोजेको भूमि बैङ्क कृषिसम्बद्ध सङ्गठनहरूले विरोध गरेपछि रोकिएको थियो । अहिले त्यसलाई देउवा सरकारले पुनः ब्युताउन खोजेपछि अप्फाले त्यसको विरोध गरेको छ । प्रेसवक्तव्यमा भूमि बैङ्क स्थापनाको प्रक्रिया नरोकिए आफूहरू आन्दोलन गर्न बाध्य हुने पनि बताइएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“गत ओली सरकारले स्थापना गर्न खोजेको ‘भूमि बैङ्क’ अखिल नेपाल किसान महासङ्घ (अप्फा) लगायत राष्ट्रिय किसान सञ्जाल मातहतका बहुसङ्ख्यक किसान सङ्घ–सङ्गठन, आन्दोलनरत चार किसान सङ्गठन, भूमिविद्, कृषिविज्ञसहितका पक्षहरूको व्यापक सङ्घर्ष, विरोध र दबाबले बाध्य भएर स्थगित भएको थियो । अहिले गठबन्धनको सरकारले त्यसलाई फेरि ब्युँताउन खोज्दै छ ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) यसको सशक्त विरोध गर्दछ । ‘भूमि बैङ्क’ किसानहरूको हितमा छैन । यसले कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनी भित्राउने आधार तयार पार्दछ । भूमिहीन किसानहरूलाई भूमिको अधिकारबाट वञ्चित गर्दछ । न्यून र मध्यम खालका किसानहरू जमिनको उत्पादनबाट वञ्चित हुन पुग्दछन् । न्यून भूमि भएका किसानहरू पनि उत्पादनको अधिकारबाट वञ्चित हुन पुग्दछन् । यसले बहुराष्ट्रिय कम्पनी र भू माफियालाई कानुनी संरक्षण गर्दछ । हामी गठबन्धन सरकारसित ‘भूमि बैङ्क’ स्थापनाको प्रक्रिया तत्कालै बन्द गर्न माग गर्दछौँ । त्यसका बाबजुद यदि ‘भूमि बैङ्क’ ल्याइएमा यसको विरुद्धमा हामी सङ्घर्षमा उत्रिन बाध्य हुने छौँ ।”