• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एस.एल.सी., एस.ई.ई. र हाम्रो शिक्षा


  •   बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
    • ईरानराई ##

    ‘फलामे ढोका’को उपमा भिरेर वि.स. १९९० (सर्वोत्कृष्ट पुष्पभक्त मल्ल) देखि वि.स. २०७२ सम्म (वि.स. २०७१ को सर्वोत्कृष्ट दीक्षित पौडेल) नेपालमा लगातार ८४ वर्षसम्म एसएलसी परीक्षा सञ्चालन भयो । यद्यपी २०७२ मा एसएलसी नै भए तापनि अक्षराङ्कन उर्फ लेटर–ग्रेडिङ प्रणाली प्रारम्भ भएको थियो । अर्थात् आफ्नो ८४ औँ वर्ष मनाउने तयारी गर्दागर्दै ८४ औँ शुभ कार्य नपाई नै एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट : प्रवेशिका परीक्षा प्रमाणपत्र) चर्लक्कै विस्थापित भएर एसईई (सेकन्ड्री एजुकेसन इक्ज्यामिनेसन : माध्यमिक शिक्षा परीक्षा) स्थापित भएको हो ।

    Advertisement

    अक्षराङ्कन प्रणालीलाई अझ बढी उपयुक्त र व्यवस्थित बनाउन एसईई नामाकरण गरी नयाँ प्रणालीलाई सञ्चालनमा ल्याइएको छ । २०७७ को एसईई ब्याचमा नियमित ४,५२,७८१, इम्ज्याम्टेड २४,०७१ र प्राविधिकतर्फका ८,७३४ गरी जम्मा ४,८५,५८६ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार मुलुकभरि कक्षा १२ कक्षासम्म सञ्चालन गरिरहेका करिब ४ हजार र कक्षा १० सम्म करिब ८ हजार गरी जम्मा १२ हजार स्कुल माध्यमिक तहका छन् र कतिपय मुलुकमा कक्षा १२ लाई उच्च माध्यमिक तह भनिन्छ ।
    हाम्रोमा पनि केही अघिसम्म उच्च माध्यमिक तह भनिन्थ्यो तर अहिले माध्यमिक तह मात्र भनिन्छ । विद्यालय तहका स्तरीकरण परीक्षाहरुमध्ये कक्षा ८ को स्थानीय तह, कक्षा १० को प्रदेश र कक्षा १२ को सङ्घीय तहमा गरिने व्यवस्था रहेको तर पनि भने जति शैक्षिक सुधार नभएकोले शैक्षिक सुधारका लागि आपूm भर्खर (करिव २ महिना मात्र) बोडमा आएकोले सबैसँग छलफल र सल्लाह गरी अगाडि बढ्ने बताउनुभयो ।

    यी दुईको समानताहरूमा कक्षा १० उत्तीर्ण नै हो, यो स्तरको परीक्षा उत्तीर्ण गरेपछि कक्षा ११ वा सो सरहको कक्षामा भर्ना हुने र खरिदार तह वा सो सरहको जागिर पदका लागि योग्य हुनु हो । धेरैले एसएलसी र एसईईलाई समान देखे पनि, समानजस्तै देखिए तापनि गुह्य रूपमा यी दुईमा केही भिन्नताहरू छन् ।

    (१) अनुत्तीर्ण नभइने तर उत्तीर्ण पनि नभइने :
    एसएलसीमा अनुत्तीर्ण भइन्थ्यो भने एसईईमा अति नै थोरै वा शून्य जीपीए ल्याए पनि अनुत्तीर्ण भइँदैन । तर कक्षा ११ वा उच्च शिक्षा अध्ययन गर्न वा जागिरमा लाग्न उक्त अति न्यून जीपीएले योग्य भइँदैन ।

    नेपालमा शिक्षा तथा मानविकी (सङ्काय) को कक्षा ११ मा अध्ययन गर्न न्युनतम १.६ जीपीए र नेपाली, अङ्ग्रेजी र सामाजिक विषयमा ‘डी–प्लस’ (समग्रमा न्युनतम ४१ प्रतिशत अङ्क) ग्रेड अनिवार्य प्राप्त गरेको हुनुपर्दछ । अर्थात् कुनै अर्को विषयमा उच्च जीपी ल्याएर जीपीएचाहिँ १.६ वा सोभन्दा बढी छ तर उल्लिखित तीनमध्ये कुनै एक विषयमा ‘डी’ वा ‘ई’ ग्रेड छ भने अयोग्य भइने छ । यसर्थ एसईईमा अनुत्तीर्ण भइँदैन तर कक्षा ११ अध्ययन गर्न अयोग्य हुनु भनेको उत्तीर्ण नहुनु नै हो ।

    (२) विषयका आधारमा योग्यता :
    एसएलसीमा सामान्यतया विशेष विषयहरूमा सानो अङ्क प्राप्त गरे तापनि समग्रमा उच्च प्रतिशत नतिजा ल्याउन सके माथिल्लो कक्षामा चाहेको विषय अध्ययन गर्न पाइथ्यो तर अहिले एसईईमा चाहेको विषयमा उच्च शिक्षा अध्ययन गर्न तत् तत् विषयहरूमा तोकिएको न्युनतम् अङ्क अनिवार्य प्राप्त गर्नै पर्छ । तसर्थ, एसएलसीभन्दा एसईई बढी वैज्ञानिक र कडा छ । जस्तै, एसएलसीमा विज्ञान (सङ्काय) को कक्षा ११ मा अध्ययन गर्न अन्य विषयहरूमा बढी अङ्क ल्याएर विज्ञान वा गणितमा ३९ प्रतिशत अङ्क मात्र ल्याउँदा पनि योग्य ठहथ्र्यो भने एसईईमा न्युनतम २.० जीपीए तथा गणित र विज्ञान विषयमा ‘सी’ (अर्थात् ४१ प्रतिशत) एवम् नेपाली, अङ्ग्रेजी र सामाजिक विषयमा ‘डी–प्लस’ ग्रेड अनिवार्य प्राप्त गरेको हुनुपर्दछ । अर्थात् कुनै अर्को विषयमा उच्च जीपी ल्याएर जीपीएचाहिँ २.० वा सोभन्दा बढी छ तर गणित वा विज्ञानमा ‘सी’ भन्दा तल ‘डी–प्लस’, ‘डी’ वा ‘ई’ ग्रेड अथवा उल्लिखित तीनमध्ये कुनै एक विषयमा ‘डी’ वा ‘ई’ ग्रेड छ भने अयोग्य भइने छ ।

    ३) पूरक परीक्षा पाउने समानता :
    एसएलसीमा परीक्षार्थी अनुत्तीर्ण भएमा पुनः परीक्षा दिएर उत्तीर्ण बनेजस्तै एसईईको कुनै दुई विषयहरुमा न्यूनतम जीपी नआएमा पूरक परीक्षा दिन पाइन्छ तर पूरक परीक्षामा पनि आवश्यक न्यूनतम जीपी ल्याउन नसकेमा अर्को वर्ष नै कुर्नुपर्दछ ।

    ४) श्रेणीमा भिन्नता :
    एसएलसीमा प्रथम श्रेणी (६० देखि ८० प्रतिशत)को नै ठुलो मान्यता थियो । पछि खुकुलो परीक्षा सञ्चालन र हलुका मूल्याङ्कन प्रचलनले प्रथम श्रेणीलाई बेवास्ता गर्दै विशिष्ट श्रेणी (८० वा सोभन्दा माथि)को जमाना ल्याइयो । जसको मुखबाट पनि विशिष्ट श्रेणी (Distinction) सुनिन थाल्यो, माग हुन थाल्यो । जसरी पनि ८० प्रतिशत अङ्क प्राप्त गरेर इज्जत र भविष्य कमाउन परीक्षार्थीहरूलाई बाध्य बनाइयो ।

    समय विकसित हुँदै आयो । अब ८०–९० प्रतिशत प्राप्ताङ्कले पनि नहुने भयो । अहिले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षा कार्यालयहरू र समाज सबैलाई ९० प्रतिशतभन्दा माथिको अङ्क चाहियो अर्थात् ए–प्लस (A+) । ए–प्लस ल्याउने परीक्षार्थीहरूले कसरी त्यो ग्रेड ल्याए भन्ने कसैलाई खोजी गर्ने चासो हुँदैन बरु कसरी ए–प्लस ल्याउने भन्ने मात्र चिन्ता हुन्छ । परिणाम, धेरैजसो ए–प्लसहरूले न गर्व गर्न सकेका छन्, न कक्षा ११ लगायतका उच्च कक्षाहरूमा इज्जत नै जोगाउन सकेका छन्, केवल ए–प्लस, ए–प्लस भनेर चिच्याउँछन् ।

    ५) गुणस्तर :
    समयसँगै गुणस्तरको मापदण्ड र प्रकार फरक हुनसक्छ तर पनि आधारभूत गुणस्तर त सधैँ चाहिन्छ । पहिलाको एसएलसी र अहिलेको एसईईका बिच ठुलो अन्तर भेटिन्छ । पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू, शैक्षिक उपकरणहरू, शिक्षकहरूको शैक्षिक डिग्रीहरू, इन्टरनेट र विभिन्न सञ्चार माध्यमहरूको सरल र सहज पहुँच आदिका कारणले पहिलाको भन्दा अहिलेको शिक्षा हरेक कोणले बढी उपलब्धीमूलक र वैज्ञानिक हुनुपर्ने हो तर ठिक उल्टो भएको पाइन्छ । अहिलेका नानीहरूको दिमागमा अनुत्तीर्ण भइँदैन भन्ने भ्रम, इन्टरनेट र सञ्चारमाध्यमहरूको दुरूपयोग र सामाजिक तथा सांस्कृतिक विचलनयुक्त समाज आदिका कारण अहिलेको शैक्षिक गुणस्तर छिटपुटदेखि बाहेक डामाडोल देखिन्छ ।

    अहिलेका कतिपय विद्यार्थीहरूले कक्षा १० उत्तीर्ण गरिसक्दा पनि क, ख, क, का, अ, आ पढ्न जान्दैनन्, सानो र ठुलो सी, आई, जे, एम, पी, एस, जेड आदि लेख्न सक्दैनन् । कविता कण्ठस्थ पार्न वा प्रश्नोत्तरलाई मुखाग्र गर्न चाहदैनन् । गणितका सानातिना समस्याहरूलाई पनि आफै समाधान गर्न मान्दैनन् । सामान्य ज्ञानका लागि अरू कुराहरू त छाडिदिऔँ, शिक्षामन्त्रीसमेतको पूरा नामसम्म आउँदैन । अचम्मचाहिँ के हो भने, सामान्यज्ञान, सामाजिक या कुनै पनि विषय अध्यापन गराउने शिक्षकहरूलाई शिक्षामन्त्रीको नाम सोध्यो भने अधिकांशले लाजैबिना भनिदिन्छन् – दिनैपिच्छेजसो फेरिन्छन् मन्त्रीहरू, कति जनाको पो नाम घोकेर सक्नु, म त जान्दिनँ ।
    अनि बिचरा विद्यार्थीहरूको के कुरा !

    ६) वर्तमान अवस्था :
    एसएलसीलाई परिष्कृत गरेको भनिएको एसईईले विद्यार्थी/परीक्षार्थीहरूमा तात्विक भिन्नता ल्याउन सकेन बरु विद्यार्थीहरूलाई अरू बढी अल्छे, पढाइप्रति अरुचिकर, ढाँट र अरूका उत्तर सार्ने मात्र बनाइदियो । धेरै विद्यार्थीहरूको धाक–धमास अभिभावकहरूले खप्नुपरेको छ – अहिले किन पढ्नु, जाँचमा ए/ए–प्लस ल्याए भएन ?

    अधिकांश परिणाम उल्टो आउँछ अनि विद्यार्थीहरू पनि बिग्रिने र अभिभावकहरूले पनि लाज मान्नुपर्ने स्थिति समाजमा बढ्दो छ ।
    अनुत्तीर्ण नभइने मात्र होइन, अनुत्तीर्ण गराउनै नहुने अवस्था कोभिड–१९ को विश्वव्यापी महामारीले पनि बनाइदियो । बाँचिन्छ कि मरिन्छ भन्ने सुनिश्चितता कसैसँग पनि नभएको कहालीलाग्दो परिस्थितिमा ‘कताको जिली, कताको गाँठी’ भनेजस्तो ‘थ्रेड’ का कारण ‘ग्रेड’को मतलब रहेन । घरदेखि बाहिर मात्र होइन, आफ्नै घरमा पनि बेग्लाबेग्लै बसेर कोठाबाट बाहिर जान नमिल्ने परिस्थिति बन्यो । यस्तो अवस्थामा नेपाल सरकारले ‘अनलाइन कक्षा’ कोठामै बसी बसी लिनुपर्ने निर्देश गर्यो । विशेषगरी निजी विद्यालयहरूले अभिभावकहरूलाई ‘अनिवार्य’ भन्यो जसका कारण अति विपन्न र विद्युत वा इन्टरनेट वा स्मार्टफोनसेटको पहुँच नभएका अभिभावकहरूदेखिबाहेक अरूहरूले आफ्ना सन्तानहरूको ‘सुन्दर भविष्य’का निम्ति ‘अत्याधुनिक अध्ययन प्रणाली’ जेनतेन उपलब्ध गराए ।

    अनलाइन कक्षाले बहुसङ्ख्यक विद्यार्थीहरूलाई सपार्नेभन्दा बिगार्ने भूमिका बढी खेल्यो । ‘माल पाएर चाल पाउनु’ पर्नेमा यो सुविधा कतिपयलाई ‘बाँदरको हातमा नरिवल’ भयो भने कतिपयलाई कक्षाकोठाको पढाइबाट ‘साङ्लीबाट भोटेकुकुर फुकेको’जस्तो मनमौजी गर्ने अवसर र साधन पाए, र कतिपय त नसुध्रिनेगरी बिग्रिए । कोही ‘फ्री फायर’, ‘पपजी’, कोही ‘टिकटक’ र कोही मनचाही भिडियो हेर्ने वा च्याटिङ गर्ने बने । कतिपय त्यस्ता विद्यार्थीहरूले अहिले पनि अरू साथीहरूलाई बिगारिरहेका छन् ।

    ७) अबका कुरा :
    हिजोको हाम्रो मूल चरित्र समस्याहरू देखाउनै नपाउनु वा समस्याहरू देखाएर ठुलो पल्टिनु थियो जुन हाम्रो शैक्षिकलगायत सर्वाङ्गीण विकासको बाधक थियो । तसर्थ समस्याहरूलाई देखाउँदै कमजोरीहरूलाई सच्याउँदै अघि बढौँ । त्यसका लागि निम्न सुझाव पेस गर्दछु ः

    (१) हौसला, पुरस्कार र परामर्श : विद्यार्थीहरूको राम्रा पक्षको प्रशंसा गरौँ, सधैँ प्रोत्साहित गरौँ तर नराम्रा पक्षको सबैले सकारात्मक र रचनात्मक आलोचना गरेर अनिवार्य सुधार गर्न लगाऔँ,

    (२) विद्यार्थीहरूको निगरानी : अभिभावक, शिक्षक र समाज सबैले विद्यार्थीहरूलाई संरक्षण गरौँ । गलत सङ्गत र क्रियाकलाप गर्न नदिऔँ । यो मामिलामा समाज पनि जिम्मेवार होऔँ – स्कुलड्रेसकै बच्चालाई चुरोट, खैनी, घोला वा रक्सी बेचेर कति नाफा कमाइन्छ र ? कतै आफ्ना नानीहरू पनि अर्कोतिर यसै गरिरहेका त छैनन् ? भन्नेतिर पनि सचेत बनौँ ।

    (३) घराध्यान (घरमा अध्ययन गर्ने) तालिका बनाएर पढौँ-पढाऔँ : जसरी विद्यालयमा यति समय यो विषय, त्यसपछि त्यो विषय भन्ने पूर्वनिर्धारित हुन्छ, त्यसरी नै घरमा पनि समय र विषयको तालिका हुन आवश्यक छ । समयतालिका निर्माण गर्दा सबैभन्दा गाह्रो दुई विषयलाई बढी समय छुट्ट्याऔँ र बाँकीलाई बराबर समय दिँदा पुग्दछ ।

    घराध्यान तालिकाको नमुना 

    (४) मोबाइलफोनसेटलाई बन्द गरौँ : विद्यार्थी भाइबहिनीहरूले स्मार्टफोनसेटलाई स्विच अफ गरेर दराज-बाकसभित्र राखौँ । अरू दिन समस्या र जिज्ञासाहरूलाई कापीमा लेखौँ र आधा-एक घन्टा मात्र इन्टरनेटको सुविधा सदुपयोग गरौँ । छुट्टीका दिन उक्त मोबाइलफोनलाई एक-दुई घन्टा समय मनोरञ्जन वा डकुमेन्ट्री आदि निर्माणमा उपयोग गरौँ । अभिभावकले यसरी नै तारतम्य मिलाऔँ,

    (५) स्कुल–समयको अवधि बढाऔँ : स्कुल बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म होइन, अब बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरौँ । यसरी ८ घन्टामध्ये १-१ घन्टाको घन्टीअवधि निर्धारण गरी ७ घन्टा पढ्ने–बुझ्ने–मुखाग्र गर्ने तथा लेख्ने–बुझ्ने–मुखाग्र गर्ने गरौँ-गराऔँ । बाँकी १ घन्टालाई खाजा ४० मिनेट, तेस्रो घन्टीको अन्त्यमा ध्यान १० मिनेट र अन्तिम घन्टीको अन्तिममा १० मिनेट हाजिरीजवाफ गराऔँ,

    दैनिक कक्षा शिक्षण तथा सिकाइको नमुना :

    (६) कक्षाकोठा शिक्षण–सिकाइलाई प्रयोगात्मक बढी बनाऔँ : अलिक खर्चालु भए तापनि अब प्रयोगात्मक शिक्षण–सिकाइ र बाहिरी शिक्षण–सिकाइको विकल्प छैन । जति विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षण गर्यो र परियोजना कार्य तथा त्यो परियोजना उनीहरूले प्रस्तुन गर्ने बनाइयो भने मोबाइलफोनमा झुन्डिरहने रोगबाट मुक्ति मात्र हुँदैन, पढाइको गुणस्तर पनि बढ्ने देखिन्छ,

    (७) हामी सबै आ–आफ्नोस्तरबाट जिम्मेवार बनौँ : सरकार, शिक्षा कार्यालयहरू, राजनैतिक दल, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक, अभिभावक, विद्यार्थी र समाजले जिम्मेवारीपूर्वक आ आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्यौं भने शैक्षिक गुणस्तर स्वतः उन्नत बन्दछ । हामी धेरैजसो त, जिम्मेवारी छैनौँ । कतिपय हामी कर्तव्यचाहिँ पूरा गर्ने तर दायित्वबाट पन्छिने पनि छौँ । कक्षामा मरुञ्जेल पढाउने तर अरू बेला आफ्नै अगाडि विद्यार्थीहरू झगडा गरेको, खैनी खाएको वा चुरोट तानेको नदेख्ने, छाडा बोलेको नसुन्ने वा धुलोमैलोमा खेलेको बेवास्ता गर्ने गरेको भेटिन्छ । यस्ता कुराहरूमा पनि सचेत र क्रियाशील हुनुपर्दछ,

    (८) नियमित भेटघाट र छलफल गरौँ : अभिभावकहरूले आआफ्नो नानीहरूको पढाइ र अनुशासनबारे विद्यालय प्रशासन र सम्बन्धित शिक्षकशिक्षिकाहरूसँग कम्तिमा महिनामा एकपटक भेटघाट गरौँ, सूचना लिऔँ र कुनै समस्या भएमा छलफल गरेर सुधार गरौँ÷गराऔँ,

    (९) दोहोरो सूचनामा रहौँ : अभिभावकहरूले आफ्ना नानीहरू केही कमजोरी भएमा विद्यालय प्रशासन र सम्बन्धित शिक्षकशिक्षिकाहरूलाई पनि जानकारी गराऔँ र छलफल गरेर सुधार गराऔँ । शिक्षकशिक्षिकाहरूले पनि आफ्ना विद्यार्थीहरूले कमीकमजोरी गरेमा पोलको रूपमा होइन, सुधारका लागि सूचनाका रूपमा सम्बन्धित अभिभावकहरूलाई जानकारी गराऔँ र छलफल गरेर सुधार गराऔँ,

    (१०) कर नगरौँ, जिज्ञासु र उत्साही बनाऔँ : भनिन्छ, मान्छेलाई छाक टार्न माछा होइन, बल्छी वा जाल दिऔँ । तसर्थ विद्यार्थीहरूलाई उत्तर होइन, प्रश्न-जिज्ञासाहरू दिऔँ । परीक्षापूर्व सोधिने प्रश्नहरू चुहावट गरेर, परीक्षामा ‘चोरी’ गराएर वा उत्तर–परीक्षणमा उत्तरलाई नाम, दाम र ठामलाई हेरेर उच्च अङ्क दिएर अभिभावकहरूलाई भ्रममा पार्नु, विद्यार्थीहरूलाई भ्रष्ट पार्नु र देशलाई ठग्नुभन्दा बेलैमा विद्यार्थीहरूलाई सिकाइप्रतिको भोक जगाइदिनुपर्छ । त्यो भोकलाई सन्तुष्ट बनाउन उनीहरू आफैले खाद्यान्न जुटाउने, अड्कालेर पकाउने, मिलाएर पस्किने र स्वादले खाने बानी बसालिदिनुपर्दछ । यो कार्यमा अभिभावकहरूले रेखदेख र शिक्षिकहरूले पथप्रदर्शन गर्नुपर्दछ । भोक लागेको छैन, ‘खा कि खा’ अथवा पकाउनै आउँदैन भने ‘पका कि पका’ भन्नु हुँदैन ।

    आफ्नो वडाको वडाध्यक्षको नाम नजान्ने जीके (सामान्य ज्ञान), बाजेबजुको नाम नजान्ने सामाजिक शिक्षा, मातृभाषा, राष्ट्रिय भाषा नबुझ्ने र आफ्नो नाम, थर शुद्ध लेख्न नसक्ने भाषाविषय, उनासी, सतसट्ठी भनेको कति हो भनेर सोध्ने गणित, दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन ग्यासहरू मिलाएपछि पानी बन्छ भन्ने पढ्ने तर बनाएर देखाउन नसक्ने विज्ञान, बजारमा गएर सागसब्जी किनबेच गर्न नसक्ने व्यावसायिक शिक्षा आदि जस्ता लाजमर्दो र ढाँट शिक्षाबाट हामी पनि सच्चिनुपर्दछ र विद्यार्थी-अभिभावकहरूलाई पनि मुक्त बनाउनुपर्दछ ।
    समग्रमा, गिरिरहेको हाम्रो शैक्षिक स्तरलाई सबैले एकजुट भएर उकास्नुपर्दछ ।

    iranrai77@gmail.com

    9842078199

    (लेखक सगरमाथा इङ्लिस स्कुल बेलबारी, मोरङका प्रिन्सिपल हुनुहुन्छ ।)

    बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.