बैतडी । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको सीमा अतिक्रमण विरुद्धको ‘कालापानी अभियान’ दिपायल पुगेको छ । आइतबार बिहान बैतडी सदरमुकाम गोठालापानीमा विरोध सभा गरी अभियान अघि बढेको हो ।
गोठालापानीमा आयोजित सभालाई राजमोका केन्द्रीय सदस्य लालबहादुर जाग्री र कल्पना भण्डारीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार तथा स्वागत राजमो बैतडीका सचिव विरेन्द्र भण्डारीले गर्नुभएको थियो ।
आज दिपायलमा विरोध सभाको कार्यक्रम आयोजना गरिएको राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । अभियान अन्तर्गत भोलि कञ्चनपुरको गुलरियामा विरोध सभा हुनेछ ।
यसअघि शनिबार दार्चुला सदरमुकाम खलंगाबाट अभियान गोठालापानीका लागि अघि बढेको थियो । मंसिर ११ गते धनगढीबाट अघि बढेको मार्चका क्रममा शुक्रबार दार्चुलामा विरोध सभा सम्पन्न भएको थियो ।
राजमोले आयोजना गरेको मोटरसाइकल यालीलाई ठाउँ ठाउँमा स्थानीय जनताले स्वागत गरेको र जनतामा ठुलो उत्साह देखिएको यालीमा सहभागी अखिल (छैठौं) का महासचिव महेश जोशीले जानकारी दिनुभएको छ । स्थानीयले कालापानीसहति सम्पुर्ण अतिक्रमित भूमि फिर्ता गर्न सरकारले तत्काल पहल गर्नुपर्ने बताएका छन् ।
अहिले तराईमा भएको अतिक्रमणविरुद्ध पहाडमा र पहाडमा भएको अतिक्रमण विरुद्ध तराईमा जागरण आएको छ । यो जागरणलाई अझ बिस्तार गर्ने काम राजमोले गरेको भन्दै जनस्तरमा राजमोप्रति आकर्षण देखिएको मार्चमा सहभागीहरुले बताएका छन् ।
दुर्घटनामा जगत जोशी घाइते
अभियानमा सहभागि राजमो कैलालीका सचिव जगत जोशी मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । शनिबार गोठालापानीबाट धनगढी फर्कने क्रममा जोशीले चलाएको से२प ५९५९ नं को मोटरसाइकललाई खोड्पेमा बसले ठक्कर दिएको थियो । घाइते जोशीको धनगढीस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।