खुम रायमाझी, कुवेत ।
कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौंमा उडान भर्ने भएको छ । कुवेत एयरवेजले काठमाडौंलाई नयाँ गन्तव्य बनाएसँगै अब कुवेतबाट दुइवटा एयरलाइन्स नेपाल आउँनेछन् ।
कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर माइन रजौकीले काठमाडौं लगायतका १७ नयाँ गन्तब्यमा कुवेत एयरवेजले उडान भर्न लागेको जानकारी दिए । सीईओ रजौकीलाई उद्धृत गर्दै यहाँको अंग्रेजी पत्रिका अरब टाइम्समा प्रकाशित समाचार अनुसार नयाँ सहित कुवेत एयरवेजको अन्तर्राष्ट्रिय उडान गन्तव्यको संख्या ५७ पुगेको छ ।
नयाँ गन्तव्यका शहरहरु मलाक्का, मस्को, साराजेभो, नाइस, सलालाह, शर्म एल शेख, सोहाग, अलेक्जान्ड्रिया, म्याकानोस, बोडरम, ट्राब्जोन, भियना, म्याड्रिड, कासाब्लान्का, म्यानचेस्टर, काठमाडौं र क्वालालाम्पुर रहेका छन्।
कुवेत एयरवेजले सबै सामाजिक क्षेत्रहरू,व्यापार प्रबर्द्धन, पर्यटन र शिक्षाको लागि उच्च माग सहितको सबैभन्दा चाहिने र रुचाइएका शहरहरुलाई विशेष ध्यानमा राखेर नयाँ गन्तव्य छनौट गरिएको हो ।
यसअघि काठमाडौंमा जजिरा एयरलाइन्सले दैनिकजसो उडान भरिरहेको छ।