खिमराज चालिसे
विज्ञान र प्रविधिले संसारभरमा नयाँ नयाँ उचाइहरु छुँदैछ । त्यही प्रविधिमाथि उभिएर समाजमा कैयन सकारात्मक त कैयन नकारात्मक प्रभावहरु झेलिरहेको अवस्था छ, आजको एकाइसौँ शताब्दीको समय । यो समयसम्म पुग्न मानव समाजका दार्शनिक, वुद्धिजीवी, वैज्ञानिक र विभिन्न विधाका विज्ञहरुको आफ्नो बुद्धी विवेक, क्षमता र परिश्रमको प्रयोगले नै संसारमा कैयन प्रविधी तथा वैज्ञानिक उपलव्धि प्राप्त गर्न सकिएको हो ।
भनिन्छ, जहाँ प्रकाश हुन्छ, त्यहाँ छायां पनि हुन्छ । त्यसरी नै प्रत्येक फाइदा भित्र बेफाइदा पनि लुकेको हुन्छ । यो भनाइलाई चरितार्थ गरिरहेको छ, अहिलेको आनलाइन (इन्टरनेट) गेमले । विगत लामो समयदेखि नलाइन गेमहरुका सकारात्मक प्रभावहरु भन्दा नकारात्मक प्रभावहरु खासगरी युवा पुस्ता तथा बालबालिकाहरुमा साइबर आक्रमणको रुपमा कैयन गुणा बढेर गएका छन् । प्रस्तुत लेखमा मैले आजको युवा पुस्तामा अत्यन्तै तेजीपूर्वक फैलिएको अनलाइन गेम्सको क्रेज र त्यसका दुष्प्रभावबारे संक्षेपमा प्रकाश पार्ने प्रयास गर्ने छु । जसले गर्दा सुन्दर भविष्यका निर्माता युवा पुस्ता तथा भविष्यका कर्णधार बालबालिकाहरुलाई सही र सुन्दर बाटो देखाउन सकियोस् ।
अनलाइन गेम के हो ?
संसारको कुनै पनि ठाउँमा बसेर इन्टरनेटको माध्यमबाट खेल्न सकिने खेलहरुलाई आनलाइन खेल (गेम) भनिन्छ । अनलाइन गेम अलग अलग देश वा स्थानहरुबाट धेरै जना जोडिएर खेल्न सकिने खेल हो । अनलाइन गेममा धेरैजसो युवा तथा बच्चाहरुले पैसा हालेर भेल्यु बढाउने र खेल्ने गर्दछन् त्यसले बच्चाहरुमा एकप्रकारको जुवाको बानी पार्ने गरेको हुन्छ ।
अहिलेको युवा पुस्ता तथा बाल बालिकाहरुमा तेजीपूर्वक फैलिएको अनलाइन खेलहरु यी हुन्ः
पप्जी गेमः चाइनिज तकनिकीद्वारा विकसित यो गेम संसारका धेरै मुलुकका युवाहरुलाई साइबर आक्रमणको शिकार बनाएको खेल हो । यसमा एकैचोटि १०० जनाले खेल्न सकिन्छ । जीत भने अत्यमा एकजनाको हुन्छ र उसले मात्र पैसा कमाउँछ ।
फ्रि फायरः यो पप्जी भन्दा कम स्टोरेज भएको गेम हो । यसमा एकसाथ पचास जनाले खेल्न सक्दछन् ।
वीजीएमआईः यो गेम इन्डियन तकनिकीमा विकसित गेम हो । यो पनि पप्जी जस्तै १०० जना खेलाडीहरुले एकसाथ खेल्न सकिने खेल हो । भारतमा पप्जी बन्द गरिएपछि सबैभन्दा बढी यही खेल खेल्छन् ।
कल अफ ड्युटीः यो खेल पनि १०० जनाले खेल्ने गेम हो । यो तीन जीवी रेम भएको महंगो गेम हो । यसलाई मोबवाइलबाट खेल्न सकिँदैन ।
फोर्टनाइटः यो खेल पनि तीन जीवी रेम भएको महंगो गेम हो । यसलाई पनि मोबाइलबाट खेल्न सकिँदैन । यो गेम कम्प्यूटरबाट खेलिन्छ ।
एपेक्स लेजेन्टः यसलाई पनि मोबाइलमा खेल्न सकिँदैन र कम्प्यूटरबाट खेलिन्छ ।
फलगाइजः फोनमा खेल्ने अलग अलग टास्क भएको इन्टरनेट गेम हो ।

अब, उपरोक्त अनलाइन गेमहरुबाट हुने क्षतिको बारेमा संक्षेपमा चर्चा गरौँ ।
धनको क्षति र समयको बर्बादीः इन्टरनेट गेमहरुको सबैभन्दा घातक नोक्सान धनको क्षति र समयको नोक्सान हो । केही समय पहिला भारतको पञ्जाबमा एक बालकले आफ्नो बुबाको खाताबाट १६ लाख भारु खर्च गरेको समाचार सार्वजनिक भएको थियो भने मुम्बइमा पनि त्यसै प्रकारको घटना सामने आएको थियो । त्यसैगरी महाराष्ट्रको नासिकमा रेलवे लाइनमा बसेर घन्टौँ पप्जी खेलिरहेका दुईजना युवाहरुलाई हैदराबाद एक्सप्रेसले कुल्चेर मृत्यु भएको घटनाले इन्टरनेट गेमहरुको सबैभन्दा घातक पक्ष समयको बर्वादी र धनको नुक्सान रहेको पुष्टि गर्छ ।
तनावग्रस्त र हिंस्रक बन्दै युवाहरुः भविष्यका कर्णधार बालबालिका तथा युवाहरुमा इन्टरनेट गेमहरुको अर्को ठूलो असर हो अटेर हुनु । स–साना विषयमा अवसाद तथा तनावको माहौल सृजना गर्नु र कतिपय अवस्थामा आफूलाई भने झैँ नभए हिंस्रक रुपमा प्रस्तुत हुनु र आत्महत्यासम्म गर्ने हदसम्मको स्थितीमा पुग्नु ।
शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभावः आज इन्टरनेट गेमहरुले युवाहरुलाई अर्को साइवर आक्रमणको रुपमा शिक्षा तथा स्वास्थ्यमा नै नकारात्मक प्रभाव पारिरहेको छ । गेम खेल्नेहरु यती बिजी हुन्छन् कि उनीलाई समयमा खानपिनको समेत कोई मतलब हुँदैन र आफूले अध्यन गर्नु पर्ने सेलेवसमा पनि ध्यान जाँदैन । जसले गर्दा उनीहरु बिमार पर्ने अवसाद वा मानसिक रोगको शिकार हुने वातावरण स्वतः निर्माण हुने गर्दछ ।
निदको समस्याः इन्टरनेट गेम खेल्नेहरुलाई सबैभन्दा घातक रोग हो निद नलाग्ने रोग लाग्नु । उनीहरुको यो समस्या बढ्दै जाँदा अन्तत उनीहरु निदको लागि विभिन्न औषधि खाने वा नसाको प्रयोग गर्नेसम्म गरेको पाइएको छ । यसरी युवाहरुलाई नसाको कुलततिर डोहोर्याउने साइबर आक्रमण अनलाइन गेमद्वारा गरिएको छ ।
परिवार तथा आफन्तसँग दूरीः इन्टरनेट गेमका खेलाडीहरुको गेममा यती धेरै लगाव हुन्छ कि उनीहरु आफ्नो त्यो गेमको सामु सबै नातारिस्ता आफन्त र परिवारलाई समेत नजिक देख्न सक्दैनन् । दुःख सुख पिरमर्का सेयर गर्न त टाढै जाओस् दुःख बिमारीमा पनि साथ दिन सक्दैनन् र उनीहरु ढिलो ढिलो परिवार र छिमेकबाटै धेरै दूरी बनाउन पुग्छन् ।
यसरी अनलाइन गेमबाट उपरोक्त बाहेक पनि कैयन् क्षतिहरु हुने गरेका समाचारहरु आउने गरेका छन् । कतीको आर्थिक नोक्सान साथ कैयन्ले ज्यान गुमाएका घटनाहरु पनि छन् ।
इगो, तनाव अनिद्रा, झगडा र कैयन् समयमा आत्महत्यासम्म गराउने अनलाइन गेमबाट भएका एकदुई नुक्सानीका सामान्य उदाहरणले नै थप स्पष्ट पार्ने छ । अनलाइन गेम कति खतरनाक साइबर आक्रमण हो । यसलाई समयमै बुझौँ ।
काठमाडौंमा एउटै डेरामा बस्ने युवतीहरु बिच पप्जी गेम्सको विषयमा आपसमै झगडा हुँदा हत्या भएको घटना । दिल्लीको कश्मीरीगेटबाट ओखला जाँदै गरेको एक युवक पप्जी खेल्दै जाँदा फरिदावादको बल्लबगढ़सम्म २-३ पटक ओहोर दोहोर गर्दा समयसिमा सकिएकोसम्म थाहा नपाएर गिरप्तार भई जेल चलान गरिएको घटना, नेपालबाट अनलाइन गेमकै चक्करमा पर्वतकी एक युवती पढ्दा पढ्दै हिमाञ्चलको युवकसँग एक्लै हिमाञ्चल पुगेको घटना यी सबै प्रतिनिधि घटनाहरु हुन् ।
यसरी मुलरुपमा अनलाइन गेम भनेको युवा तथा बालबालिकाहरुको भविष्यलाई अन्धकार तर्फ धकेलेर अस्वस्थ, अवसादपूर्ण भयावह युक्त समाज निर्माण गर्ने साइबर आक्रमणको रुपमा बुझ्नु जरुरी छ ।