गोकुलेश्वर (दार्चुला) सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको ‘कालापानी अभियान’ दार्चुलाको गोकुलेश्वर पुगेको छ । बिहीबार साँझ करिब ८ बजे मार्च गोकुलेश्वर पुगेको हो ।

बिहीबार सुदूरपश्चिमका अधिकांश भागमा पानी परेको थियो । पानीले मार्चमा सहभागीलाई निथ्रुक्कै भिजाएको थियो । जाडोमा पानीले रुझ्दै भएपनि मार्च अघि बढेको छ । डोटी र डडेल्धुराबाट थप सहभागिता भएपछि बुधबारको तुलनामा मार्चमा सहभागीको संख्या बढेको राजमो केन्द्रीय सदस्य मनोज भट्टले जानकारी दिनुभयो ।

डडेलधुरा, खोड्पे र पाटनमा सभा
अभियान अन्तर्गत आज बिहान डडेल्धुरामा सभा सम्पन्न भएको छ । राजमो कैलाली जिल्ला पूर्वअध्यक्ष लक्ष्मीराम आचार्यको सञ्चालनमा सम्पन्न सभामा राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्ट, राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, केन्द्रीय सदस्य लालबहादुर जाग्री, राजमो डडेलधुरा जिल्ला अध्यक्ष पदम ओली, पत्रकार महासंघ डडेलधुरा जिल्ला अध्यक्ष मानबहादुर साउदलगायतले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, बैतडीको खोड्पेमा भएको सभाको सञ्चालन राजमो कञ्चनपुरका नेता हरि लम्सालले गर्नुभएको थियो भने राजमो कैलाली जिल्ला सचिव जगत प्रसाद जोशीले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै बैतडीको पाटन बजारमा सम्पन्न सभाको अध्यक्षता राजमो बैतडीका अध्यक्ष विरेन्द्र भण्डारीले गर्नुभएको थियो । जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियारले सञ्चालन गरेको कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सम्बोधन गर्नुभएको थियो ।

बुधबार बिहान धनगढीमा विशेष कार्यक्रमसहित अघि बढेको कालापानी अभियान हिजो डडेल्धुरा पुगेको हो । भोलि दार्चुला सदरमुकाम खलंगा पुगेर अभियान फर्कनेछ । मंसिर १७ गते महेन्द्रनगरमा समापन कार्यक्रम हुनेछ । समापन समारोहलाई राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुनेछ ।

राष्ट्रियता रक्षाका लागि कालापानी मार्चमा सहभागी नेता कार्यकर्ताहरु मंसिर महिनाको जाडोमा रुझ्दै भएपनि उत्साहपुर्ण ढंगले अघि बढेको मार्चमा सहभागीहरुले बताएका छन् ।