मनोज भट्ट
अहिले नेपालको वाम राजनीतिक वृतमा दुई वटा शब्द ब्यापकरुपमा चलनचल्ती वा प्रयोगमा आएको पाइन्छ । ती शब्द हुन् समाजवाद र दलाल पूँजीवाद । समाजवादको विषयमा चर्चा गर्नु यो लेखको उदेश्य होइन । त्यसैले समाजवादको विषमा प्रवेश गरिरहनु परेन । निक्कै प्रयोग हुने गरिएको अर्को शब्द दलाल पूँजीवाद हो । दलाल पूँजीवादमाथि नै यो लेख केन्द्रित हुनेछ । यी दुईटै शब्दको ब्यापक प्रयोग त भएको छ । तर समाजवादको स्थापना कसरी हुन्छ ? यसको चरित्र, स्वरुप कस्तो हुन्छ ? विद्यमान पूँजीवाद व्यवस्थाभित्र शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाट समाजवादको स्थापना हुन्छ ? वा त्यका लागि सशस्त्र संघर्षको आवश्यकता पर्दछ ? त्यसैगरी दलाल पूँजीवादको परिभाषा, साम्राज्यवादी शक्तिसँगको यसको सांठगांठ, सामन्ती तथा औपनिवेशिक अवस्था कायम रहँदासम्म दलाल पूँजीवाद कायम रहन्छ कि रहँदैन ? दलाल पूँजीवाद विरुद्धको संघर्ष जस्ता विषयमा थुपै्र भ्रमहरु श्रृजना भइरहेका छन् । जसको परिणाम वाम आन्दोलन दिग्भ्रमित हुने ता होइन ? भन्ने आशंका पनि पैदा भएको छ ।
मैले दलाल पूँजीवादको उत्पत्ति, त्यसको परिभाषा र नेपालको सन्दर्भमा नव माक्र्सवादीहरुले दलाल पूँजीवादलाई कुनरुपमा अथ्र्याउने गरेका छन् ? त्यसको विवरण तथा दलाल पूँजीवादका विरुद्धको संघर्ष र त्यसक्रममा देखिएका कतिपय भ्रमको सवालमा यो लेखमा चर्चा गर्ने प्रयत्न गरेको छु ।
पूँजीवादको उत्पत्ति, विकास र त्यसको मरणासन्न रुप साम्राज्यवाद सर्वप्रथम यूरोपको इतिहासमा देखा परेको पाइन्छ । पूँजीवादको विकासको झण्डै ५०० वर्षको इतिहास रहेको पाइन्छ । इंग्ल्याण्डमा भएको औद्योगिक क्रान्तिकाल अर्थात सन् १८१५ देखि १८७१ मा औद्योगिक पूँजीवादको विकास अत्याधिक तीब्र ढंगले भयो । औद्योगिक पूँजीवादलाई प्रतिस्पर्धात्मक पूँजीवाद पनि भनिन्छ । प्रतिस्पर्धात्मक पूँजीवादको युग भनेको मार्क्सको युग पनि हो । पूँजीवादको विकासको क्रममा यूरोपमा मजदूरहरलाई खेतबाट बेदखल गरेर वा बढारेर कारखानामा पुर्याएको थियो । इंग्ल्याण्डले अरुमाथि औपनिवेशिक शोषण गर्यो । तर अरुको औपनिवेशिक शोषणमा बस्नु परेन । त्यहाँ पूँजीवादको विकास स्वतन्त्र ढंगबाट भयो । अरु मुलुकको पूँजीले त्यहाँको सामन्तवादसँग सांठगांठ गर्नुपर्ने भौतिक अवस्था आएन र थिएन । त्यसैले त्यहाँको सामन्तवादसँग विदेशी पूँजीको सांठगांठ भएर सामन्तवादी शोषणलाई कायम राखेर होइन । त्यसलाई खत्तम गरेर नै ओद्योगिक पूँजीवादको विकास भएको हुनाले पनि होला मार्क्सले दलाल पूँजीवाद र पूजीपति वर्गको चरित्रबारे ब्याख्या विश्लेषण गर्न वा त्यसलाई ठम्याउन सम्भव भएन ।
विश्व कम्युनिष्ट आन्दोलनमा सर्वप्रथम दलाल तथा नोकरशाही पूँजीवादलाई चिन्ने त्यसलाई परिभाषित गर्ने त्यसका विरुद्ध संघर्ष केन्द्रित गर्ने काम का. माओबाट भएको पाइन्छ । सुरुमा दलाल पूँजीवाद, पूँजीवादी विश्व अर्थ ब्यवस्थाको आम प्रवृत्तिको रुपमा देखा परेको थिएन । चीन, भारत तथा नेपाल जस्ता अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकहरुमा सामन्तवाद र उपनिवेशवादको घनिष्ठ सहयोगबाट दलाल पूँजीवादको उदय भएको हो । दलाल पूँजीवाद तात्कालीन चिनियाँ अर्थव्यवस्थाको उपज भएकोले पनि माओलाई चिन्न सजिलो भएको हो ।
सन् १९२६ मा माओद्वारा लिखित रचना ‘चिनियाँ समाजको वर्ग विश्लेषण’ मा, ‘आर्थिक रुपले पिछडिएको र अर्ध औपनिवेशिक चीनमा जमीन्दार वर्ग र दलाल पूँजीवाद वर्ग पूर्णतया अन्तर्राष्ट्रिय पूँजीवाद वर्गका पुच्छर हुन् । उनीहरुले आफनो अस्तित्व रक्षाकालागि साम्राज्यवादमाथि निर्भर हुन्छन् । यी दुइटैले सधैँ साम्राज्यवादको साथ दिन्छन् ।’
माओको ब्याख्याले दलाल पूँजीवाद वर्ग तथा साम्राज्यवादी शक्तिबीचको सम्बधलाई स्पष्ट पारेको छ । दलाल पूँजीवाद वर्ग पूर्णतया परजीवि हुन्छ । दलाल पूँजीपति वर्गको अस्तित्व साम्राज्यवादमाथि निर्भर हुन्छ । यो वर्गले हमेशा साम्राज्यवादलाई साथ दिन्छ । अर्थात दलाल पुँजीपति वर्ग साम्राज्यवादको सहयोगी तत्व भएको कुरा प्रष्ट छ । दलाल पूँजीपति वर्ग तथा साम्राज्यवाद बीचको सम्बन्ध बारे थप ब्याख्या गर्दै माओले, ‘चिनियाँ क्रान्ती तथा चिनियाँ कम्युनिष्ट पार्टी’ शिर्षकको लेखमा लेखेका छन्, ‘दलाल पूँजीपति वर्ग एउटा त्यस्तो वर्ग हो, जसले साम्राज्यवादी देशहरुका पूँजीपतिहरुको प्रत्यक्ष सेवा गर्छ तिनैबाट यसको पालन पोषण हुन्छ ।’
दलाल पूँजीपति वर्गको साम्राज्यवादसँग नाता जोडिएको, साम्राज्यवादबाट पालित पोषित, त्यहाँका पूँजीपतिहरुको सेवा गर्ने वर्ग हो । हाम्रो जस्तो पिछडिएको मुलुकमा माओको भनाइअनुसार यो वर्गको ‘असंख्य शुत्रहरुले गाउँले सामन्तीहरुसँग यसको नाता गाँसिएको छ ।’ अर्थात दलाल पूँजीपति वर्गको नाता क्रान्ती विरोधी सामन्तवाद तथा साम्राज्यवादी शक्तिसँग गाँसिएकोले यो वर्ग स्वतः क्रान्तीका विरुद्ध खडा हुने प्रतिकृयावादी वर्ग हो ।
दलाल पूँजीपति वर्गको अर्थ, परिभाषा र ब्याख्या मार्क्सवादी साहित्य भन्दा बाहिर कसरी गरिएको छ ? त्यसमाथि पनि विचार गर्नुपर्ने आवश्यकता छ । अक्सफोर्ड अंग्रेजी शब्दकोषमा दलाल (कम्प्रेडर) शब्दलाई, ‘लगानी, ब्यापार वा आर्थिक राजनीतिक फाइदाकालागि क्रियाशील विदेशी संगठनको एजेण्टको रुपमा काम गर्ने ब्यक्ति’को रुपमा अर्थ्याइएको छ । अक्सफोर्ड शब्दकोषले पनि विशेषतः विदेशी संगठनको लागि काम गर्ने स्थानीय एजेण्टको रुपमा परिभाषा गरेको छ । त्यसै गरि डा. गोपाल शिवाकोटीद्वारा लिखित राजनीतिक शब्दकोषमा दिइएको दलाल पूँजीपति वर्गको परिभाषा जस्ताको त्यस्तै यहाँ प्रस्तुत गर्नु भन्दा पनि उक्त परिभाषामा दिइएको दलाल पूँजीपति वर्गको सम्पत्तिको श्रोत के हुन्छ ? भनेर यहाँ प्रस्तुत गर्ने हो भने दलाल पूँजीपति वर्ग तथा साम्राज्यवादका बीचको सम्बन्धका विषयमा माओले गरेको ब्याख्या तथा गोपाल शिवाकोटीले दिएको परिभाषा बीच समानता पाइन्छ । परिभाषामा ‘विदेशी पूँजीपति वर्गसँग सांठगांठ गरी उनिहरुको उद्योग र ब्यापारलाई फाइदा पुर्याउने कामका लागि कमिसन बापत सम्पत्ति प्राप्त गर्नु नै उसको पूँजीको मुख्य श्रोतको रुपमा रहने’ उल्लेख छ ।
यो परिभाषाले पनि पूँजीको सम्बन्ध वा सांठगांठ विदेशीसँग रहेको नै बताएको छ । एमालेका एक जना नेता घनश्याम भूसालले आफनो एउटा पुस्तकमा दलाल पूँजीपति सम्बन्धी विदेश लेखकले दिएको जानकारि उल्लेख गरेका छन । उक्त जानकारीमा दलाल पूँजीपति सम्बन्धी परिभाषा पनि सम्मिलित रहेकोछ । यो परिभाषाले ब्यापक क्षेत्र ओगटेको छ । उक्त परिभाषा सम्मिालित जानकारीमा ‘दलाल पूँजीपति शब्द १९औँ शताब्दीको चीनमा विदेशी कम्पनीका स्थानीय ब्यापारिक प्रतिनिधि (एजेण्ट)हरु चिनाउन प्रयोग गरिन्थ्यो । पछि विदेशी पूंजिसँग सम्बद्ध सबै क्षेत्रका पूँजीपतिहरुलाई समेटन ब्यापक पारियो’ भनिएको छ । यसको अर्थ हुन्छ, दलाल पूंजिपति भनेको विदेशी पूंजिपतिका स्थानीय एजेण्ट मात्र नभएर स्थानीय रुपमा लगानी गर्ने विदेशी पूँजीपतिहरु समेत दलाल पूँजीपति र त्यस्तो दलाल पूँजीको परिभाषाभित्र समेटिन्छ । उपरोक्त सबै परिभाषा तथा ब्याख्यालाई हेर्दा दलाल पूँजीपति वर्गका सम्बन्धमा हामी निम्न निश्कर्षमा पुग्न सक्छौं ।
१.दलाल पूँजीपति वर्ग साम्राज्यवादी मुलुकका पूँजीपतिहरुका एजेण्ट हुन् ।
२.स्थानीय सस्तो कच्चा पदार्थ र श्रमशक्तिलाई उपयोग गरेर आफनो उद्योग ब्यापारको विकासकालागि स्थानीय एजेण्ट मार्फत वा सोझै लगानीको रुपमा आउने विदेशी पूँजी पनि दलाल पूँजी र त्यो पूँजी लगानी गर्ने पूँजीपति दलाल पूँजीपतिको वर्गिकरण भित्र पर्दछन ।
३.विदेशबाट आउने पूँजी सोझै आए पनि वा स्थानीय एजेण्ट मार्फत आए पनि त्यसले साम्राज्यवादी देशहरुका पूँजीतिहरुको प्रत्यक्ष सेवा गर्ने र स्थानीय सामन्तवादी ब्यवस्थासँग सांठगांठ गरेर आउने भएकोले यसको चरित्र प्रतिकृयावादी हुन्छ । त्यसैले माओको ब्याख्या अनुसार दलाल पूँजीपति वर्गलाई क्रान्तीको प्रहारको निशाना बनाउनु पर्ने हुन्छ ,
४.दलाल पूँजीपति वर्गका विभिन्न भागहरु बेग्लाबेग्लै साम्राज्यवादी शक्ति प्रति वफादार हुन्छन ।
पालैपालो सरकार सञ्चालन गर्ने मौका पाएका विभिन्न दलका नेताहरुले अथाह सम्पत्ति कमाएका छन् । राज्यका महत्वपूर्ण प्रशासनीक, न्यायीक, प्रहरी तथा सेनाका उपल्लो तहमा पुगेकाहरुले पनि अर्बौंको सम्पत्ति अवैध तरिकाबाट कमाएका छन् । आर्थिक तथा राजनीतिक रुपले आफूलाई लाभ पुर्याउन संघसंस्थालाई सरकार वा पार्टीका महत्वपूर्ण पदमा बसेकाहरुले सरकारी नियम मिचेर वा आफू अनुकुल नियम बनाएर ठेक्कापट्टा दिने गरिएको छ । ओम्नी समूह, बतास समूह, यति समूह लगायतकाले विगतमा विभिन्न सरकारका पालामा पाइरहेको आर्थिक फाइदा त्यसका केही उदाहरण हुन् ।
नेपालको अर्थतन्त्रमा दलाल पूँजीको प्रभाव पकड वा नियन्त्रणमाथि पनि चर्चा गर्नु पनि सान्दर्भीक हुनेछ । नेपालको उद्योग तथा वाणिज्य क्षेत्रमा भारतीय मूलका एक दर्जन अर्बपति मारवाडीहरुको नियन्त्रण रहेको छ । नेपालको उद्योग तथा वाणिज्यको झण्डै ८० प्रतिशत हिस्सा भारतीय तथा भारतीय मूलका पूँजीपतिहरुको हातमा रहेको छ । नेपालमा ९२ वटा देशले लगानी गरेका छन् । आ.व. २०७५/७६मा भारतले नेपालमा ७७२ वटा उद्योग खोलेको वा त्यसमा लगानी गरेको पाइन्छ । आ.व. २०७२/७३ मा नेपालमा भारतीय उद्योगको संख्या ६९२ वटा पुग्दा त्यसमा ८० अर्ब ६५ करोड ७० लाख रु. भारतीय पूँजी लगानी रहेको तथ्यांकले देखाउँछ । हाल नेपालमा भारतीय उद्योगको संख्या बढेर ७७२ वटा पुग्दा निश्चितरुपले लगानीमा पनि बृद्धि भएको छ । भारतीय पूँजीपति सोझै नेपाल आएर वा नेपालका स्थानीय पूँजीपतिहरुसँग मिलेर लगानी गरि रहेका छन् । स्थानीय पूँजीपतिहरु विदेशी उत्पादन विक्री गरे बापत कमिशन वा लाभ उठाइ रहेका छन् । उदाहरणका लागि भारतमा रहेको डाबर तथा युनिलिभर कम्पनीले नेपालमा डाबर नेपाल तथा युनिलिभर नेपालको नाममा लगानी गरि कम्पनी सञ्चालन गरेका छन् ।
नेपालमा चिनियाँ लगानी पनि बढदै गएको छ । आ.व. २०७५/७६मा नेपालमा चिनियाँ उद्योगको संख्या १४८४ र लगानी ४ खर्ब पुग्दै छ । चिनियाँहरु सोझै, नेपालका स्थानीय कम्पनी वा पूँजीपतिहरुसँग मिलेर लगानी गरि रहेका छन् । उदाहरणकालागि चिनको होङगसी सिमेन्ट उद्योगले नेपालको शिवम् सिमेन्टसँग मिलेर कारोबार गरि रहेको छ । यसरी नेपाल भित्रिएको पूँजी दलाल पूँजी हो । यद्यपि चीनको नेपालमा लगानीको उद्धेश्ये नाफासँग जोडिएको छ भने भारतको उद्देश्य नाफाका साथसाथै राजनीतिसंग पनि जोडिएको छ । यी दुइटा देश बाहेक अरु थुप्रै मुलुकहरुले पनि नेपालमा लगानी गरेका छन् । तर त्यस विषयमा यहाँ चर्चा गर्नु असान्दर्भिक हुने र लेखको आकार बढ्ने भएकोले चर्चा गरिएको छैन ।
नेपालमा दलाल पूँजीवादका विषयमा नव माक्र्सवादी धाराबाट पनि ब्यापक छलफल अगाडि बढाइएको छ । नव माक्र्सवाद भनेको माक्र्सवाद विरोधी पूँजीवादी, संशोधनवादी धारा हो । पूँजीवादी विचारलाई माक्र्सवादको आवरण वा नाममा यो धाराले अघाडी बढाउने काम गर्दछ । पूँजीवाद भित्र देखिने चरम शोषण, गरिबी, बेरोजगारी, विकृती विसंगतिका विरुद्ध स्वयम पूँजीवादीहरुले पूँजीवादलाई आदर्श ब्यवस्था देखाउन वा कायम राख्न त्यसको अमानवीय पक्षको विरोध गर्ने गर्दछन् । जस्तै क्रोनी पूँजीवाद, क्यासिनो पूंजिवाद, साम्राज्यवादी युद्धको विरोध स्वयम पूजिवादीहरुले नै गरेर भ्रम सृजना गर्ने गरेका छन् ।
दलाल पूँजीवाद सम्बन्धी नव माक्र्सवादी धाराको प्रभाव ने.क.पा.(मसाल) बाहेकका प्रायः सबै राजनीतिक दल तथा समूहमा परेको छ । यहाँसम्म कि ने.क.पा. (मसाल) बाट विभिन्न कारणले कारवाही वा निष्कासनमा परेका कथित समन्यव समितिमा पनि यसको प्रभाव परेको पाइन्छ । नव माक्र्सवादीहरुले नेपाली समाजको पूँजीवादीकरण साम्राज्यवाद तथा भारतीय विस्तारवादद्वारा नियन्त्रित रहेको र यहाँको सामन्तवादसँग त्यसको लगनगाँठो जोडिएको रुपमा दलाल पूँजीवादको ब्याख्या गरो छन् । त्यो हदसम्म ठीक छ । माओले गरेको ब्याख्या अनुसार नै छ । तर उनीहरु यो अवस्थाको अन्तकालागि नयाँ जनवादी क्रान्तीमाथि जोड दिँदैनन् । नयाँ जनवादी क्रान्ती बिना दलाल पूँजीवादको अन्त हुन सक्दैन । तर उनीहरु नेपालमा पूँजीवाद जनवादी क्रान्ति भैसकेको बताएर घुमाउरो प्रकारले दलाल पूँजीवादलाई नै बलियो बनाउने काम गर्दै छन् । अझ त्यसमा पनि दलाल पूँजीवाद सम्बन्धी गलत ब्याख्या वा परिभाषा अगाडि सारेर त्यसबारेमा भ्रम पनि पैदा गराई रहेका छन् । त्यो भ्रमले साम्राज्यवादद्वारा पालितपोषित दलाल पूँजीवादलाई साम्राज्यवाद तथा सामन्तवादबाट अलग गरेर हेर्ने र ब्याख्या गर्ने काम भैरहेको छ । जसको परिणाम साम्रज्यवादमाथिको प्रहारलाई अन्यत्र मोडिदिन्छ । दलाल पूँजीलाई साम्राज्यवाद वा साम्राज्यवादी मुलुकका पूँजीपतिहरुबाट अलग गर्न कुनै पनि हालतमा मिल्दैन । त्यसैले दलाल पूँजीवादको चरित्र बुझ्न सजिलो होला भन्ने उद्देश्यले नै यसको परिभाषा र ब्याख्याका लागि शुरुमा नै उपरोक्त विवरण दिनु परेको हो ।
तर दलाल पूँजीवादलाई साम्राज्यवादबाट अलग गरेर त्यसलाई परिभाषित र ब्याख्या गर्ने काम भैरहेको छ । नव माक्र्सवादले ब्यापारमा आधारित नाफा, सुदमा आधारित नाफा, नेता वा राजनीतिक आडमा सम्पत्ति कमाउनेहरुलाई दलाल पूँजीपतिको रुपमा चित्रित गरेका छन् । त्यसका साथै उनीहरुले कर्मचारीले कमाउने सम्पत्ति, सरकारका मान्छेहरुबाट कमिशन खाएर कसैलाई सरकारी अनुदान दिनु, आफूले चाहेका ब्यक्तिलाई टेन्डर दिनु ब्यापारीहरुको हितका लागि नीति बनाउनु, प्रतिस्पर्धालाई रोक्नु, आफना ओपासेहरुलाई पुर्याएको लाभबाट प्राप्त सम्पत्ति, बिचौलीयाको भूमिका खेलेर प्राप्त गर्ने नाफालाई दलाल पूंजि र त्यो पूँजी प्राप्त गर्नेलाई दलाल पूँजीपति र त्यससँग सम्बन्धित आर्थिक ब्यवस्थालाई दलाल पूँजीवादको रुपमा ब्याख्या विश्लेषण गरेका छन् ।
पालैपालो सरकार सञ्चालन गर्ने मौका पाएका विभिन्न दलका नेताहरुले अथाह सम्पत्ति कमाएका छन् । राज्यका महत्वपूर्ण प्रशासनीक, न्यायीक, प्रहरी तथा सेनाका उपल्लो तहमा पुगेकाहरुले पनि अर्बौंको सम्पत्ति अवैध तरिकाबाट कमाएका छन् । आर्थिक तथा राजनीतिक रुपले आफूलाई लाभ पुर्याउन संघसंस्थालाई सरकार वा पार्टीका महत्वपूर्ण पदमा बसेकाहरुले सरकारी नियम मिचेर वा आफू अनुकुल नियम बनाएर ठेक्कापट्टा दिने गरिएको छ । ओम्नी समूह, बतास समूह, यति समूह लगायतकाले विगतमा विभिन्न सरकारका पालामा पाइरहेको आर्थिक फाइदा त्यसका केही उदाहरण हुन् । शैक्षिक, स्वास्थ्य, सहकारी, बैंक, पर्यटन तथा निर्माण क्षेत्रका माफियाहरुले विभिन्न दलहरुलाई ठूलो रकम आर्थिक सहयोग दिएर राजीतिक पद खरिद गर्ने गरेका छन् । अहिलेको संसदमा दर्जनौं त्यस प्रकारका विभिन्न क्षेत्रका माफियाहरु सांसदको रुपमा निर्वाचित हुन सफल पनि भएका छन् । विभिन्न क्षेत्रका माफियाहरु बेलाबखत सरकारका महत्वपूर्ण पदमा पुग्न पनि सफल हुने गरेका छन् । यो प्रक्रियाबाट पनि अथाह पूँजी कमाउनेहरुको पनि कमी छैन । यो वर्गको विभिन्न तहका सरकार र पार्टीमा पहुँच र प्रभाव छ । सरकार, राज्य संयन्त्र तथा पार्टीका विभिन्न तहबाट यो वर्गको प्रभावलाई खत्म गर्न दलाल पूँजीवादविरुद्ध संघर्षमाथि जोड दिने गरिएको छ । यो वर्गका विरुद्धको संघर्षलाई दलाल पूँजीवादका विरुद्धको संघर्षको रुपमा चित्रित गर्ने गरिएको छ ।
नव माक्र्सवादीहरु अनुसार उपरोक्त तरिका अपनाएर नाफा कमाउनेलाई दलाल पूँजीपति र त्यसरी आर्जन गरेको पूँजीलाई दलाल पूँजी मान्नुपर्ने हुन्छ । तर माओको ब्याख्या अनुसार दलाल पूँजी र दलाल पूँजीपति वर्ग अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्ति, मुलुक वा त्यहाँका पूँजीपतिहरुबाट संरक्षीत तथा पालितपोषित हुने गर्दछ । यिनिहरुको बफादारीता विभिन्न साम्राज्यवादी मुलुकप्रति हुन्छ । अनियमीत, भ्रष्ट तथा राज्यलाई दोहन गरेर नाफा कमाउने प्रवृत्तिलाई दलाल पूँजीको वर्गिकरण भित्र राख्ने हो भने यो पूँजीको सांठगांठ अन्तर्राष्ट्रिय रुपमा कुन साम्राज्यवादी मुलुकसंग रहेको छ ? त्यसलाई हामीले पहिचान गर्नुपर्ने हुन्छ । यदि यसरी कमाइएको नाफाको विदेशी पूँजी वा पूँजीपतिसँग कुनै सम्बन्ध हुँदैन र छैन भने त्यो दलाल पूँजी हुन सकदैन । त्यस्तो अवस्थामा साम्राज्यवादसँग कुनै सम्बन्ध नभएको पूँजीलाई दलाल पूँजीको नाम दिएर त्यसका विरुद्ध संघर्षको कुरा गर्नु भनेको वास्तवीक दलाल पूँजीवादका विरुद्ध संघर्षलाई पछाडी धकेल्नु हो ।
पार्टी शक्ति तथा राजकीय पदको प्रयोग गरेर कसैलाई आर्थिक लाभ पु¥याएका कारण त्यसबाट कमिशन खाने, अनियमित तवरबाट राजकीय पदमा बहाल भएको अवस्थामा पैसा कमाउने, बिचौलियाको भूमिका खेलेर वा आफूसँग भएको पैसा अरुलाई सुदमा दिएर पैसा कमाउने कार्यलाई सही मान्न सकिन्न । त्यसका विरुद्ध संघर्ष गर्नु पर्छ । तर के त्यही कारणले राज्यस्तरमा देखिने यो अनियमिततालाई दलाल पूँजीवादको नामाकरण गरेर त्यसका विरुद्धको संघर्षलाई अहिलेको मुख्य अन्तरविरोधको रुपमा प्रस्तुत गर्नु वास्तविक दलाल पूँजीवाद विरुद्धको संघर्षलाई भ्रष्टीकरण गर्नु हुने छ ।
चीन र रुसमा समाजवाद कायम रहेको अवस्था पनि यो समस्या देखा परेको थियो । त्यसका विरुद्ध माओले सांस्कृतिक क्रान्ती चलाउनु परेको थियो ।समाजवादी ब्यवस्थामा पनि पार्टी भित्रबाट नया वर्ग पैदा हुने खतरा रहीरहन्छ । राजकीय वा पार्टी पदमा पुगेकाले राज्यका सूचना बिक्री वा चुहावट गरेर वा राज्यका श्रोत साधनहरु निजी प्रयोजनका लागि प्रयोग गर्ने त्यसबाट धन कमाउने प्रवृत्ति रहेको थियो । नेपालको वाम राजनीतिक वृत्तमा दलाल पूँजीका विषयमा ब्याप्त अर्को एउटा भ्रमका बारे पनि यहाँ चर्च गर्नु सान्दर्भिक हुनेछ । माओवादी, एमाले तथा एकीकृत समाजवादीले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाद्वारा समाजवादको आधार तयार पार्दै समाजवादको स्थापना गर्ने दक्षिणपन्थी, संशोधनबादी बाटो लिएका छन् । यी तिनवटै पार्टीले नेपालमा नयाँ जनवादी क्रान्ती सम्पन्न भई सकेको भ्रम छरेका छन् ।उनीहरुले समाजवादको स्थापनाको लागि राष्ट्रिय पूँजीको आवश्यकता पर्ने तर राष्ट्रिय पूँजीको निर्माणमा दलाल पूँजीले बाधा पु¥याई रहेको बताई रहेका छन् । यो निकै अन्तरविरोधपूर्ण कुरा भयो ।
यी तीन वटा वाम पार्टीले दाबी गरे जस्तै नेपालमा यदि पूँजीवादी जनबादी क्रान्ती भइसकेको हो भने दलाल पूँजीको अन्त भएको हुनुपर्ने हो । तर त्यसको विपरित यहाँ त दलाल पूँजीको प्रभुत्व बढ्दै गएको छ । जनवादी क्रान्तीले दुईटा अभिभारा बोकेको हुन्छ । सामन्तवादका विरुद्ध जनवादी क्रान्ति तथा साम्रनज्यवनदी औपनिवेशिक शोषणका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन यी क्रान्तिका विशेषता हुन् । यदि नेपालमा जनवादी क्रान्ति भइसकेको भए औपनिवेशिक तथा सामन्ती शोषणको अन्त भइसकेको हुन्थ्यो । तर जनवादी क्रान्ति नभएको हुनाले सामन्ती तथा साम्राज्यवादी शोषण कायम नै रहेको छ । त्यसको परिणाम सामन्ती र औपनिवेशिक सांठगांठबाट जन्मेको दलाल पूँजीको प्रभुत्व नेपालमा बढ्दै गएको छ । सामन्ती र साम्राज्यवादी सांठगांठको अन्त नगरी दलाल पूँजीवादको अन्त वर्तमान संरचना अन्तरगत हुन सक्दैन । त्यसैले ने.क.पा. (मसाल) ले सामन्तवाद तथा भारतीय साम्राज्यवादसँग नेपाली जनताको अन्तरविरोधलाई प्रधान अन्तरविरोधको रुपमा मानेको छ । यी दुईटै शक्तिमाथि गरिने प्रहारले दलाल पूँजीवाद विरुद्धको संघर्षलाई मद्दत पुग्ने छ ।
(लेखक राष्ट्रिय जनमोर्चाका महासचिव हुनुहुन्छ ।)