काठमाडौं । यही पुस १८ गते एनआईसी एशिया बैंकबाट १६ लाख भन्दा बढी रकम लुटिएको घटनामा बैंककै कर्मचारीको संलग्नता खुलेको छ ।
बैंकको बानेश्वर शाखाका कर्मचारी प्रदीप खत्रीको मिलेमतोमा १६ लाख ३० हजार ४ सय २४ रुपैयाँ लुटपाट भएको खुलेको हो ।
बैंकमा जम्मा गर्न लगिएको सो रकम बानेश्वर युनिग्लोव कलेज अगाडिबाट लुटिएको थियो । एनआईसी एसिया बैंक बानेश्वर शाखाका नगद कलेक्टर खत्रीको मिलेमतोमै लुटपाट भएको प्रहरीले जनाएको छ ।
खत्रीले नै काठमाडौं महानगरपालिका १० को वडा कार्यालयबाट ल्याएको १२ लाख ४५ हजार रुपैयाँ र मेट लाइफ इन्सुरेन्स शान्तिनगरबाट संकलन गरेको ३ लाख ८५ हजार ४ सय २४ रुपैयाँ लुटिएको भन्दै बैंकमा जानकारी गराएका थिए । बैंकका सुरक्षा गार्डले त्यसपछि प्रहरीको बानेश्वर बृत्तमा खबर गरेका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा लुटपाट भयो भनेका कलेक्टरले अरु तीनजनासँग मिलेर रकम गायव गर्न लुटपाटको नाटक गरेको खुलेको हो । प्रहरीले उनीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोक गढी नगरपालिका ६ साँगा चोकका २४ वर्षीय बिमल तामाङ, रामेछापको रामेछाप नगरपालिका २ देउरालीका २४ वर्षीय शक्तिराज पौडेल, सोही ठाउँका २७ वर्षीय अनिश खड्का रहेका छन् ।
चारै जनाको साथबाट १३ लाख ४६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ भने लुटपाटमा प्रयोग भएको बा ४२ प ४२४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । यससम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





