काठमाडौं । राष्ट्रिय जनमोर्चाले बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि विजेता नेपाली टोलीलाई बधाई दिएको छ ।
राष्ट्रिय जनमार्चाका उपाध्यक्ष दुर्गा पौडेलले एक विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपाली टोलीले देशको गौरव बढाएको बताउनुभएको छ ।
गत पुस १३ गते बंगलादेशको ढाकामा नेपाली महिला टोलीले उपाधि उचालेको थियो ।
विज्ञप्तिमा स्थानीय तहदेखि पूर्वाधार निर्माण, खेलाडीको प्रोत्साहनको लागि कार्यक्रम र उनीहरुको भविष्य सुनिश्चित हुने कार्यक्रम ल्याउन सरकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको छ । बंगलादेशको ढाकामा पुस १३ गते भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको थियो । नेपाली महिला भलिबल टोलीलाई हाम्रो पार्टीको तर्फबाट बधाई र आगामी दिनमा पनि यस्तै सफलताको शुभकामनादिन चाहन्छौं । विगतमा जस्तै निकै मेहनतको फल नेपाली महिला भलिबल टोलीले हासिल गरेको छ । यो देशको लागिगर्वको कुरा हो । खेलाडीलाई पाँचलाख पुरस्कार दिने सरकारको निर्णय स्वागतयोग्य छ ।
नेपालमा भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिइए पनि खेलको विकासका लागि सरकारले पर्याप्त ध्यान दिएको पाइएको छैन । खेलाडीहरुले आफ्नै खर्चमा समेत खेल्नुपर्ने बाध्यता रहेको छ । देशमा भलिबलको लागि सरकारले निकै कम लगानी गरेको छ । प्रशिक्षणको व्यवस्था सन्तोषजनक रुपमा गरिएको छैन भने पूर्वाधारको अभाव रहेको छ । ग्रामीण तहमा भलिबल निकै लोकप्रिय खेल हो । यसलाई विद्यालय तहबाटै ध्यान दिनुपर्ने आवश्यकता छ । तर त्यस दिशामा सरकारको ध्यान गएको छैन ।
स्थानीय तहदेखि पूर्वाधार निर्माण, खेलाडीको प्रोत्साहनको लागि कार्यक्रम र उनीहरुको भविष्य सुनिश्चित हुने कार्यक्रम ल्याउन र भलिबल खेललाई प्राथमिकताका साथ अगाडिको लागि बजेट बढाउन र थप कार्यक्रम ल्याउन सरकारसँग माग गर्दछौं ।’
२०७८ पुस १६ गते
दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता

