काठमाडौँ । अखिल (छैठौं) ले ओखलढुङ्गा र कास्कीमा भएका दुईओटा बालबालिका गलत व्यवहारसम्बन्धी घटनाको विरोध गरेको छ ।
अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षरमा २०७८ पुस ११ गते जारी प्रेसवक्तव्यमार्फत् विद्यालय ढिलो आएकोमा ओखलढुङ्गाकी बालिका बिमला बोगटीलाई र ओछ्यानमा पिसाब गरेकोमा कास्की पोखराका बालकप्रति गलत व्यवहार गरिएपछि अखिल (छैठौं) को यस्तो प्रतिक्रिया दिएको हो ।
विद्यालयभित्र घटेका यी घटनाको तत्कालै छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन आग्रह गर्दै अखिल (छैठौँ) ले विद्यालयभित्र बालमैत्री वातावरण कायम गर्न आग्रह गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“ओखलढुङ्गा जिल्ला, चम्पादेवी गाउँपालिका, वडा नं. ३ चित्रेस्थित श्री बालज्योति माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बिमला बोगटीलाई यही पुस ५ गते विद्यालय प्रार्थनाको समयमा आइनपुगेको आरोपमा विद्यालय प्रवेश गर्न नदिई विद्यालय प्रशासनले दुव्र्यवहार गरेकाले छात्रा विमलाले घर फर्केर विषसेवन गरेका कारण उपचारको क्रममा पुस ६ गते निधन भएको समाचार र केही दिनपहिले पोखरा महानगरपालिका, वडा नं. १५ मा रहेको न्यू लाइफ होस्टलकी वार्डेन जानुका नेपालीले सोही होस्टलमा बसी फलेपाटनमा रहेको सिद्ध माविमा कक्षा नर्सरीमा अध्ययनरत बालक रेमन बुढाले ओछ्यानमा पिसाब फेरेको आरोपमा राती सुत्ने बेला पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधिदिएर यातना दिएको भन्ने समाचारप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो सङ्गठन यी दुबै घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउनका लागि जोडदार माग गर्दछौँ ।
विद्यालयभित्र घटेका यस प्रकारका गम्भीर र बालमनोविज्ञान विरोधी घटनाहरूको भत्र्सना गर्दै विद्यालयमा बालमैत्री वातावरण निर्माण गरी पठनपाठन गर्ने व्यवस्था मिलाउन हामीले सम्बन्धित सम्पूर्ण पक्षहरूसँग हार्दिक अनुरोध गर्दछौं ।”

