काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताउनु भएको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले हाल रावल नीतिगत रुपमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेको जानकारी दिनु भयो ।
उहाँले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दाबी गर्नु भयो । महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको दाबी गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि ? भनी सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । त्यसको जवाफमा उहाँले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरुले यस्तो प्रश्ननै नगर्ने तर्क समेत गर्नु भयो । एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भएपनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बूँदे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाई थियो ।
महासचिव पोखरलले संसदको गतिरोध हटाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पार्नु भयो ।
महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘एमसीसीको सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुंगो लागेको छैन । किनकी न संसदले कार्यसूचिमा राखेको छ, न सरकारले हामीलाई केही बताएको छ ।