काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा सहभागी हुने खेलाडीको मनोबल बढाउन खेलाडीलाई सम्बोधन गर्ने भएका छन् । प्रतियोगिता आउन केही दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री ओलीले खेलाडी तथा ब्यवस्थापनसँग भेटघाट तथा सम्बोधन गर्न लागेका हुन् ।
मंगलबार (मंसिर १० गते) प्रधानमन्त्री ओलीले २६ खेलको छनौटमा पर्ने खेलाडी , प्रशिक्षक, ब्यवस्थापक तथा सम्बन्धित खेल संघका पदाधिकारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा बिहान साढे १० बजे तय भएको जनाईएको छ।
आगामी सागमा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। सागमा ७ देशका ३२ सय ५२ खेलाडी भिड्दैछन।सागका लागि सरकारले ४ अर्व रकम निकासा गरेको छ। जसमा पूर्वाधार निर्माणका लागि १ अर्व ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि ३ अर्व ६५ करोड रहेको छ।
२७ वटा खेलमा प्रतिष्पर्धा गराइने साग मंसिर १५ गते उद्घाटन हुनेछ । काठमाडौं, पोखरा र विराटनगरमा सञ्चालन हुने साग मंसिर २८ सम्म चल्नेछ ।