काठमाडौं । कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम र शाखा प्रबन्धक भरतबहादुर बानियाँसमेत आठ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । गौतम र बानियाँसमेतका ब्यक्तिहरुले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ रकम निकाली बैंकलाई हानिनोक्सानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
तत्कालीन शाखा अधिकृत गौतम तथा शाखा प्रबन्धक बानियाँ लगायत सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापालाई जनही ३३ करोड ९३ लाख रुपैयाँ विगो माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
शाखा प्रबन्धक बानियाँले र शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट ईसीसी मार्फत भुक्तानी लिने काम गरेको अख्तियारको ठहर छ ।
यस्तै, नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी ‘कोर बैंकिङ सिस्टम’ को दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याउने र बैंकलाई हानिनोक्सानी पुर्याउने कार्य गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
यसका साथै सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको पाइएको छ । यस्तै, केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदा–हुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको अख्तियारले जनाएको छ ।
किर्तेमा संलग्न आठ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
