काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाउनु भएको थियो । छलफलपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अदालतको समस्या समाधान भनेकै प्रधानन्यायाधीशको राजिनामा भएको बताउनु भयो ।
उहाँले प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको राजीनामाको माग गरेको र प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनसँग छलफल गरेर केही दिन भित्रै समस्याको समाधान गर्ने जानकारी गराउनु भएको बताउनु भयो ।
यसअघि (हिजो) बिहीवार न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरेको थियो ।
लामो समय यता सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ ।