बुटवल । नेकपा (मसाल) ले पार्टी सदस्य नरबहादुर थापाप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का स्थायी बासिन्दा थापाको शुक्रबार निधन भएको हो ।
उहाँको निवासमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधि चन्द्रबहादुर केसीले थापाको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गर्नुभयो ।
त्यसक्रममा संक्षिप्त शोक मन्तव्य राख्दै केसीले नरबहादुरको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले थापाको पार्टीप्रतिको प्रतिवद्वता, दृढता र निरन्तरताको स्मरण गर्दै असल कामको अनुसरणका साथ पार्टीले उहाँको असल कामहरुलाई पछ्याउँदै जाने बताउनुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा कम्युनिष्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव टानबहादुर केसी, राजमो नगर अध्यक्ष पदमप्रसाद श्रेष्ठ, नगर सचिव गंगालाल सापकोटा, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा र पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
बागलुङ जिल्लाको साबिक हुग्दीशिर गाविसमा बुवा खड्गबहादुर थापा र आमा ललिता थापाबाट २००५ सालमा जन्मिनु भएका थापा रोजगारीको सिलसिलामा लामो समय भारत जानु भएको थियो । भारतबाटै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित भई संठनमा काम गर्नुभएको थियो ।
उहाँ २०५३ सालमा बसाइँ सराई गरी रुपन्देहीको बुटव उपमहानगरपालिका वडा नम्बर १५ मा स्थायी बसोबास गर्दै आउनु भएको थियो । स्वदेश फर्कियसँगै राष्ट्रिय जनमोर्चा तथा नेकपा मसालका विभिन्न जनवर्गीय मोर्चाहरुमा रहेर संगठनमा काम गर्दै आउनुभएको थियो ।
हाल उहाँ नेकपा (मसाल)को स्थानीय पार्टी कमिटिमा सदस्य रही का. डम्मरको नामबाट काम गरिरहनुभएको मसालले जनाएको छ ।
परिवारमा उहाँकी श्रीमती, दुई छोरा, एक छोरी, बुहारीहरु र नाति नातिनी हुनुहुन्छ । थापाको आजै अन्तिम संस्कार गरिएको छ ।