काठमाडौँ । सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ ओटा ४०० केभी क्षमताका प्रसारण लाइन अध्ययनको विभिन्न चरणमा रहेको जानकारी दिएको छ ।
नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि अन्तरदेशीय प्रसारण लाइनदेखि देशभित्रै उत्तर दक्षिण करिडोर जोड्ने गरी विभिन्न आयोजना अगाडि बढाइएको छ ।
त्यस्तै पूर्वदेखि पश्चिमसम्म बिजुली आदानप्रदानका लागि पनि उच्च क्षमताका आयोजना निर्माणका लागि आवश्यक तयारी गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालय मातहतको विद्युत्् विकास विभागमा ४०० केभी क्षमतामा प्रसारण लाइन निर्माणका लागि परेको आवेदन हेर्दा पनि एउटा सकारात्मक सन्देश दिएको छ ।
प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रले पनि ठुला क्षमताका प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरेका छन् । प्रसारण ग्रिड कम्पनीले इन्डोनेपाल बोर्डर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको अध्ययन गरिरहेको छ । कैलालीको नेपाल–भारत सीमाक्षेत्रमा कुल २७ किलोमिटर लामो उक्त प्रसारण लाइन निर्माण हुने छ । सो प्रसारण लाइनले दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रसारण गर्ने छ ।
त्यस्तै, अरुण करिडोरमा सोही कम्पनीले ३५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले दुई हजार २६० मेगावाट बिजुली प्रसारण गर्ने छ । सरकारी स्वामित्वको सो कम्पनीले भेरी करिडोरमा नलगाड–मैनताडा ७५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बिजुली प्रवाह गर्दछ ।
छिन्चुदेखि बुटवलसम्म कुल २१६ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन एससी पावर कम्पनीले अध्ययन गरिरहेको छ । सो प्रसारण लाइनले ८६० मेगावाट बिजुली प्रवाह गर्ने छ । प्राधिकरणले दुधकोशी जलाशयको बिजुली प्रवाहका लागि ९१ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । सो प्रसारण लाइनले ६०० मेगावाट बिजुली प्रवाह गर्ने छ ।
उत्तरी छिमेकी देशसँग नेपालको प्रसारण प्रणाली जोड्ने गरी प्रस्ताव गरिएको ८० किलोमिटर लामो रातमाटे–रसुवागढी ४०० केभी क्षमताको प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा पुगेको छ । नेपाल र चीनबिच विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएको सो प्रसारण लाइनको अध्ययनको काम अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएको छ ।
प्राधिकरणले नै बुढीगण्डकी करिडोरमा ८५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गर्दै अध्ययन गरिरहेको छ । तिङ्ला हबदेखि ढल्केबरसम्म १५५ किलोमिटर, दमौली, कुश्मा बुर्तिबाङ हुँदै रुकुमको बाफीकोटसम्म २०५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइनको अध्ययन भइरहेको छ । यी सबै प्रसारण लाइनले दुई हजार ५०० मेगावाटका दरले बिजुली प्रसारण गर्ने छन् ।
प्राधिकरणले नै अध्ययनको काम गरिरहेको अन्य आयोजनामा न्यू बुटवल कोहलपुर १५० किलोमिटर र दोधारा–दैजी ९३ किलोमिटर लामो प्रसारण लाइन छन् । ती आयोजनाले एक हजार ९३३ मेगावाट बिजुली बोक्ने छन् ।
सरकारी स्वामित्वको विद्युत्् उत्पादन कम्पनीले फुकोट कर्णाली र किमाथाङ्का अरुणमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गरेको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएको माथिल्लो अरुणको विद्युत्गृहदेखि ६.५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको पनि अध्ययन भइरहेको छ ।
प्राधिकरणले नै लमही–छिन्चु ९४ किलोमिटर, सितलपाटी–इनरुवा १३० किलोमिटर तथा अरूण हबदेखि दुधकोशी ११५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन गरिरहेको छ । ती प्रसारण लाइनले चार हजार ४०० मेगावाटसम्म बिजुली प्रसारण गर्ने छन् ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बझाङ पश्चिम सेती ७२ किलोमिटर र पश्चिम सेती–दोधारा १५५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । ती आयोजना पनि अध्ययनका विभिन्न चरणमा छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उत्तर दक्षिण करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माणको कामलाई रणनीतिक रूपमा अगाडि बढाइएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सरकारले सहजीकरण गर्नु त परै जाओस्, कुनै पनि सहयोग उपलब्ध नहुने अवस्थाका कारण प्रसारण लाइन आयोजना एकपछि अर्को गर्दै समस्यामा फसिरहेका छन् ।
विभिन्न सात मन्त्रालय, २३ विभागमा धाउनुपर्ने अवस्थाका कारण आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । प्राधिकरणले नै निर्माण गरिरहेका आयोजना समस्यामा फसेका छन् । जलविद्युत्् आयोजना निर्माण सम्पन्न भई बिजुली उत्पादन गरिसकेको भए पनि प्रसारण लाइन नहुँदा खेर गइरहेको छ । रामेछापको गज्र्याङ–खिम्तीमा अवस्था यस्तै देखिएको छ ।
लामो प्रयासपछि बल्ल सोलु करिडोर प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढेको छ तर भरतपुर बर्दघाट खण्डमा दुईओटा टावर निर्माण हुन नसक्दा पूर्वको बिजुली पश्चिम नेपाल पठाउन समस्या भइरहेको प्राधिकरणको भनाइ छ ।
ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल प्रसारण लाइन निर्माणमा देखिएको जटिलतालाई समग्रतामा सम्बोधन गर्ने गरी प्रयास भइरहेको बताउनुहुन्छ । सरकारले अत्यावश्यक प्रसारण लाइन निर्माणमा देखिएको जटिलता फुकाउन शीघ्र निर्णय गर्नुपर्ने ऊर्जा उद्यमीको माग छ । (रासस)





