धनगढी । राष्ट्रिय जनमोर्चाले सीमा अतिक्रमण विरुद्ध धनगढीदेखि दार्चुलासम्म मोटरसाइकल र्याली गर्ने भएको छ । यही मंसिर ११ गते धनगढीबाट सुरु हुने र्याली १३ गते दार्चुला सदरमुकाम खलंगा पुग्ने छ ।
मोटरसाइकल र्यालीका क्रममा धनगढी, अत्तरिया, बुडर, डडेल्धुरा, पाटन, सतबाँझ, गोकुलेश्वर, खलंगालगायतका स्थानमा कोणसभा गरिने राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले जानकारी दिनु भएको छ ।
मंसिर ११ गते धनगढीमा एक समारोहबीच कार्यक्रमको औपचारिक उद्घाटन गरिनेछ । अत्तरिया, बुडरलगायतका स्थानमा कोणसभा तथा सांस्कृति कार्यक्रम गर्दै त्यो दिन साँझ डडेल्धुरमा बास बस्ने कार्यक्रम छ । त्यस्तै १२ गते डडेल्धुरा, पाटन, सतबाँझ हुँदै याली गोकुलेश्वर पुग्नेछ भने १३ गते गोकुलेश्वरमा कोणसभा गरी दार्चुला सदरमुकाम खलंगामा जनसभाको आयोजना गरिनेछ ।
र्यालीमा करिब १०० जनाको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । कार्यक्रमको तयारी तिब्र गतिमा भइरहेको र ७ गते धनगढीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बिस्तृत विवरण सार्वजनिक गरिने राजमोका प्रदेश सचिव लक्षीराम आचार्यले जानकारी दिनुभयो ।
भारतले सुदूरपश्चिमका विभिन्न स्थानमा सीमा अतिक्रमण गरेको छ । कञ्चनपुरको ब्रम्हदेव, भुजेला, बेलौरी, पुनर्वास तथा कैलालीको फूलवारी लगायतका स्थानमा सीमा अतिक्रमण भएको छ । पछिल्लो समयमा नक्सा विवाद भएको दार्चुलाको कालापानी क्षेत्रमा पनि वर्षौंदेखि भारतले सेना राखेर अतिक्रमण गर्दै आएको थियो ।
सीमा अतिक्रमण विरुद्ध देशब्यापी रुपमा एकजुट भएर आवाज उठिरहेका बेला राजमोले भारतविरुद्ध दार्चुला पुगेर खबरदारी गर्न लागेको हो ।

